चामत्कारिक उद्दार अभियान, जसले तान्यो संसारको ध्यान
केशरमणि कटुवाल ‘हामी यो चमत्कार हो, विज्ञान हो या अरु के हो हामीलाई थाहा छैन । तर अब फँसेका सबै सबै १३ जना गुफाभन्दा बाहिर छन् ।’ यो भनाई थाइल्यान्डको चियाङ्ग राय प्रान्तमा रहेको एउटा अँध्यारो गुफामा १८ दिनसम्म फँसेका १२ जना किशोर फुटबलर र उनीहरुका १ जना २५ वर्षीया प्रशिक्षकलाई सकुशल बाहिर निकालेपछि थाई नौसैनिक टोलीका सदस्यले भनेको वाक्य हो, यो । गत जुन २३ गते गुफामा पसेका उनीहरुलाई १८ दिनपछि १० जुलाईमा सबै १३ जनाको उद्दार भएको छ । आफ्ना प्रशिक्षकसँग बेपक्ता भएका १२ जना गुफामा रहेको ९ दिनपछि एक बेलायती गोताखोरले पत्ता लगाएपछि उनीहरुको उद्दारको प्रक्रिया सुरु गरिएको थियो । भरिएको चिसो पानी, अँध्यारो र धेरै नै साँघुरो गुफाबाट बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने अभियानलाई संसारले नजिकबाट नियाल्यो र उनीहरु गुफाबाट बाहिर निस्किएको समाचारले संसारका सञ्चारमाध्यममा स्थान पायो । थाई जनता र फँसेका बालकका परिवारमा अभूतपूर्व खुसीको क्षण आयो । यो घटना कतिपयलाई सामान्य लागे पनि यति कठिन अवस्थामा मानवीय आशावादिता र हौसलाको जितको यथार्थ परिघटना पनि हो । उनीहरुले यो गुफाभित्र बाँच्नका लाग...