चामत्कारिक उद्दार अभियान, जसले तान्यो संसारको ध्यान
केशरमणि कटुवाल
‘हामी यो चमत्कार हो, विज्ञान हो या अरु के हो हामीलाई थाहा छैन । तर अब फँसेका सबै सबै १३ जना गुफाभन्दा बाहिर छन् ।’ यो भनाई थाइल्यान्डको चियाङ्ग राय प्रान्तमा रहेको एउटा अँध्यारो गुफामा १८ दिनसम्म फँसेका १२ जना किशोर फुटबलर र उनीहरुका १ जना २५ वर्षीया प्रशिक्षकलाई सकुशल बाहिर निकालेपछि थाई नौसैनिक टोलीका सदस्यले भनेको वाक्य हो, यो । गत जुन २३ गते गुफामा पसेका उनीहरुलाई १८ दिनपछि १० जुलाईमा सबै १३ जनाको उद्दार भएको छ । आफ्ना प्रशिक्षकसँग बेपक्ता भएका १२ जना गुफामा रहेको ९ दिनपछि एक बेलायती गोताखोरले पत्ता लगाएपछि उनीहरुको उद्दारको प्रक्रिया सुरु गरिएको थियो । भरिएको चिसो पानी, अँध्यारो र धेरै नै साँघुरो गुफाबाट बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने अभियानलाई संसारले नजिकबाट नियाल्यो र उनीहरु गुफाबाट बाहिर निस्किएको समाचारले संसारका सञ्चारमाध्यममा स्थान पायो । थाई जनता र फँसेका बालकका परिवारमा अभूतपूर्व खुसीको क्षण आयो । यो घटना कतिपयलाई सामान्य लागे पनि यति कठिन अवस्थामा मानवीय आशावादिता र हौसलाको जितको यथार्थ परिघटना पनि हो । उनीहरुले यो गुफाभित्र बाँच्नका लागि कहिल्यै पनि आफ्नो जीवनप्रतिको विश्वासलाई टुट्न दिएनन् । बच्चाहरुलाई सुरक्षित बाहिर निकाल्ने अभियानमा थाइल्यान्डको नौसेना, वायु सेनासहित, बेलायत, चीन, म्यानमार, लाओस, अस्ट्रेलिया, अमेरिका र जापानसहितका देशका विशेषज्ञ खटिएका थिए । गुफाको नजिकै रहेका स्थानीयबासीले यो अभियानमा जुटेका स्वयम्सेवकका लागि खाना बनाए अनि गोताखोरका कपडा धोए । संसारभरबाट आएका विशेषज्ञ गोताखोरले आफ्नो ज्यानको बाजी लगाएर गुफाभित्र बच्चा र उनीहरुका प्रशिक्षकलाई खोजे र लामो र जटिल अभियानपछि अन्तिममा सुरक्षित रुपमा बाहिर निकाल्न सफल भए । गुफाको बाहिर यतिबेला खुसीको माहौल छ, तर यो अभियानमा नै एक गोताखोरले ज्यान गुमाए । थाई सरकारले उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । गुफाबाट तीन दिन गरी अलग अलग उद्दार गरिएका सबै पुनः अस्पतालमा एक ठाउँमा छन् । आइतबार चार जना बालक, सोमबार थप चार जना र मंगलबार बाँकी चार जना खेलाडी र उनीहरुका प्रशिक्षकको उद्दार गरेर अस्पताल लगिएपछि उनीहरु सबैजना एक ठाउँ भएका हुन् । यो सँगै उद्दार अभियान सफल भयो । जसलाई सुरुमा असम्भव ठानिएको थियो । गुफाबाट उद्दार गरिएका उनीहरुले अझैसम्म पनि परिवारका सदस्यसँग भेट गर्न पाएका छैनन् । दुई साताभन्दा लामो समय गुफामा बसेका उनीहरुको शारीरिक र मानसिक अवस्थाको परीक्षणपछि उनीहरुले परिवारका सदस्यसँग भेट्न पाउनेछन् ।
कसरी पूरा भयो उद्दार अभियान ?
१८ दिनको गुफाबासबाट १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षक सुरक्षित रुपमा बाहिर निकाल्नु चानचुने कुरा थिएन । यो अत्यन्तै खतरनाक र कठिनाईयुक्त अभियान थियो र संसारका केही देशका विशेषज्ञ गोताखोरले यो अभियानलाई सफल बनाएर एउटा चमत्कार नै गरेका छन् । थाई स्वास्थ्य अधिकारीहरुका अनुसार सबै बच्चाको शारीरिक र मानसिक स्वास्थ्य ठीक छ । थाई सरकारको जनसम्पर्क विभागले अस्पतालमा रहेका बच्चाका केही तस्बिर पनि सार्वजनिक गरेको छ । जसमा उनीहरु मास्क लगाएर अस्पतालमा शैय्यामा छन् । उनीहरुको स्वास्थ्य अवस्थामा चिन्ता गर्नुपर्ने कारण छैन । तर, अझै पनि बालक गुफामा प्रवेश गरेदेखि निस्किएसम्मका केही महत्वपूर्ण प्रश्नको जवाफ प्राप्त भइसकेको छैन । जसको उत्तर समयसँगै प्राप्त होला ।
बच्चाहरु कसरी गुफाको यतिभित्र गए ?
बच्चाहरु गुफामा जानुलाई सामान्य रुपमा नै लिनु पर्छ । तर उनीहरु यति भित्रसम्म किन र कसरी गए भन्ने प्रश्नको जवाफ अहिलेसम्म प्राप्त भइसकेको छ । यतिमात्रै होइन, बच्चा या उनीहरुका प्रशिक्षक स्वयम्ले यसबारेमा मुख नखोलेसम्म उनीहरु भित्र जानुको कारण अनुमानमा नै सीमित हुनेछ । बच्चाहरुका मुख्य प्रशिक्षक नोपरट कान्टाभामन्गका अनुसार शनिबार उनीहरुको प्रतियोगिता थियो । त्यसअघि सोमबार नै हराएपछि पछि रद्द भयो । सोही प्रतियोगिताका लागि खेलाडीहरु प्रशिक्षणमा थिए । उनीहरु सबै जना साइकल चलाउन मन पराउँथे । प्रशिक्षक एकापोलले उनीहरुलाई साइकल चढेर प्रशिक्षण गर्न मैदानमा जान अह्राए । यो कुराकानी सामाजिक सञ्जाल फेसबुकबाट भएको थियो । सो कुराकानीमा गुफामा जानेबारे कुनै कुरा गरिएको छैन । शनिबार तीमध्ये एक जना बच्चाको जन्मदिन पनि थियो । जसका लागि २२ डलर बराबरको खानपिनको व्यवस्था गरिएको थियो । जुन थाईल्यान्डको निकै ठूलो रकम हो ।
अर्कोतर्फ मुख्य प्रशिक्षक नोपरटले आफ्ना सहायक एकापोल बच्चाका लागि धेरै दयालु र समर्पित रहेको पनि बताएका छन् । त्यसकारण पनि उनीप्रति बच्चाहरुको भरोसा रहेकाले गुफामा जान मनाएको हुनसक्छ । यो गुफाबारे स्थानीय अनविज्ञ पनि थिएनन् । यी बच्चाहरु पनि त्यसअघि सो गुफामा पुगिसकेका थिए । गुफामा गएपछि बर्षाका कारण उनीहरु निस्किनुको साटो सो गुफाभित्रै बसे र पानी बढेर खतरा पैदा हुँदा समेत उनीहरु बाहिर ननिस्किएर झनै भित्र छिर्दै गएको देखिन्छ ।
अभिभावकसँग किन भेट्न दिइएन ?
गुफाबाट बाहिर निस्किएपछि केही बच्चाले आफ्ना बाबुआमालाई देख्न पाए । तर सिसाभित्रबाट मात्रै । अधिकारीहरुले बच्चाहरु यति लामो समयसम्म गुफामा बसेका कारण संक्रमण र लामो समयसम्म नखाँदा स्वास्थ्यमा गडबढीको भएको आशंकामा उनीहरुलाई अस्पतालमा राखिएको छ । अर्को कुरा यी बच्चाहरुको जीवन साँच्चै महंगो पनि छ । उनीहरुलाई बचाउनका लागि निकै ठूलो संघर्ष गर्नुपरेको छ । यसकारण अब अधिकारीहरु बच्चाका बारेमा कुनै जोखिम मोल्न चाँहदैनन् । किनकी धेरैजसो बच्चाका बाबुआमा गरिब र प्रवासी समुदायका पनि भएकाले सरकारी अधिकारीहरुको निर्णयको विरोध पनि गर्न सक्ने अवस्था छैन ।
प्रशिक्षकमाथि अनुसन्धान
बच्चाहरु गुफाको यति भित्र पुग्नुका पछि सबैभन्दा ठूलो हात उनीहरुका प्रशिक्षकको नै छ । तर, उनको भूमिकालाई लिएर सुरुमा आलोचना पनि भयो । उनीमाथि अनुसन्धानात्मक कारबाही हुनुपर्ने आवाज पनि नउठेको होइन । तर यो कठिन छ । उनले गुफाभित्रैबाट चिठी लेखेर बच्चाका बाबुआमासँग माफी मागिसकेका छन् । अनि बच्चाका बाबुआमाले आफूहरुले माफी दिएको पनि बताइसकेका छन् । अझ बाबुआमा यी प्रशिक्षकप्रति आभारी चाँहि छन् । किनकी उनले यति लामो समयसम्म अँध्यारो गुफामा हराउँदा समेत बच्चाहरुको मनोबल कमजोर बन्न दिएनन् । उनले बच्चाहरुलाई ध्यान केन्द्रित गर्न र आत्मविश्वासी बन्न हौसला दिएकै कारण कठिन अवस्थामा पनि उनीहरुले त्यसलाई कायम राखे । हुनसक्ट उनलाई केही दिन ठाढा गएर पश्चाताप गर्न भन्न पनि सकिन्छ । थाइल्यान्डमा यसप्रकारको सजाय प्रचलित पनि छ । अर्को महत्वपूर्ण कुरा थाईल्यान्डमा ‘ब्लेम–गेम’ अर्थात अर्कोमाथि दोष थोपर्ने संस्कृति पाइन्न ।
बिना खाना तन्दुरुस्ती
बच्चाहरु जुन २३ मा गुफामा वेपत्ता भएको ९ दिनपछि मात्रै उनीहरु कहाँ छन् भन्ने पत्ता लाग्यो । उनीहरुसँग धेरै कम मात्रै खाना भएको अनुमान सहजै गर्न सकिन्छ । त्यसमाथि पनि फुटबलको नियमित प्रशिक्षणमा जाने खेलाडीले यतिधेरै खानेकुरा लिएर जाने कुरा पनि हुन्न । तर उनीहरुको स्वास्थ्य अवस्था लामो समयको भोकका बाबजुद उत्साहजनक नै पाइनु सकारात्मक विषय हो । उनीहरु सबै जना फुटबल खेलाठी भएकाले शारीरिक रुपमा धेरै फिट थिए । उनीहरुमा रहेका खेल भावनाले पनि उनीहरुलाई यो डरलाग्दो अवस्थामा हिम्मत कायम राख्न सहयोग गरेको हुनसक्छ । हुनसक्छ, यो अन्धकारभित्र उनीहरुले मन बहलाउनका लागि कुनै उपाय अपनाए होला । थाई सेनाले भने प्रशिक्षकले उनीहरुलाई ध्यान राख्न सिकाए र आफूभन्दा बढी खान खुवाए । साथै उनले बच्चाहरुलाई जमिनमा जम्मा भएको पानीको साटो गुफाको चट्टानबाट निस्किएको पानी पिउन भने । त्यसको केही समयपछि उनीहरुलाई उच्च प्रोटिनयुक्त खानेकुरा दिइयो, जसका कारण तन्दुरुस्तीमा त्यति धेरै कमी हुन पाएन ।
सबै समय अँध्यारोमा
गुफामा पसेका बच्चाहरु र उनीहरुका प्रशिक्षक केही सस्ता र साना टर्च लाइटहरु लिएर गुफाभित्र गए । तिनीहरु त्यतिधेरै समय चलेनन्, यसकारण उनीहरुको धेरैजसो समय अँध्यारोमा नै बित्यो । नौ दिनमा केही डाक्टर र नौसैनिकको टोली राम्रो प्रकाश दिने लाइट लिएर गएपछि उनीहरुले बल्ल उज्यालो देख्न पाए । त्यसै कारण पनि उनीहरुलाई बाहिर आउँदा सनग्लास लगाउन भनिएको थियो । किनकी यति लामो समय अँध्यारोमा बसेर एकै पटक उज्यालो प्रकाशमा पुग्दा आँखालाई क्षति गर्न सक्थ्यो ।
उद्दारको खर्च कसले ग¥यो ?
बच्चाहरुको उद्दारलाई निकै कठिन कामका रुपमा हेरिएको छ । त्यसैले पनि यो उद्दार अभियानमा ठूलो रकम खर्च भयो । यसको धेरैजसो हिस्सा थाईल्यान्ड सरकारले नै बेहो¥यो । थाइल्यान्डका केही व्यपारीले पनि यसमा सहयोग गरे । थाई एयरवेज र बैंकक एयरवेजले विदेशी गोताखोर आउनका लागि निशुल्क टिकट उपलब्ध गराए । यो अभियानमा सामेल भएका देशले पनि खर्च उठाए । अमेरिकी एयरफोर्सका ३० जवान पनि यो अभियानमा सामेल भएका थिए । उनीहरुको खर्च अमेरिकी सरकारले नै बेहो¥यो ।
यो अभियान थाइल्यान्ड एक्लैले गर्न करिब करिब सम्भव थिएन । थाइल्यान्डलेमा मात्रै नभएर संसारका कुनै पनि देशले यति कठिन उद्दार अभियानलाई एक्लै पूरा गर्न सम्भव छैन । गुफाभित्र गोताखोरको एक विशेष क्षमता हुन्छ । अर्को कुरा गुफाभित्र सफलतापूर्व अभियान चलाउन सक्ने मानिसहरु निकै कम मात्रै छन् । यसको सबैभन्दा सफल पाटो भनेको अनुभव भेन अनस्वर्थ यो अभियानमा सामेल हुँदा ठूलो फाइदा मिल्यो । बच्चाहरु वेपत्ता भएपछि उनी त्यो स्थानमा पुगे र उनले सरकारलाई यो अभियानका लागि विदेशी एक्सपर्टलाई बोलाउन सल्लाह दिए । थाई नौसेनाका गोताखोरले सुरुवाती समयमा धेरै कठिनाईको सामना गर्नुप¥यो । किनकी उनीहरु कम अनुभवी थिए र राम्रा उपकरण पनि थिएनन् । तर जब विदेशी गोताखोर आएर अभियानतमा सामेल भए, तब बढ्दो पानीको स्तरका बाबजुद पनि यो अभियान सफलतापूर्वक सम्पन्न भयो ।
संसारको आँखा, सबै खुसी
थाल्यान्डमा १८ दिनसम्म गुफाभित्र बच्चाहरु आफ्ना एक प्रशिक्षकसँग फँसेको विषयले थाइल्यान्डलाई मात्रै नभएर संसारलाई स्तब्ध बनायो । यो उद्दारको काम सुरु भएदेखि नै संसारको ध्यान पनि त्यतै सोझियो । यो अभियान सुरु भएदेखि नै बच्चाहरुलाई सुरक्षित निकाल्ने चासो एकातिर थियो भने अर्कोतिर केहीलाई निकालेपछि थप बच्चाहरुलाई निकाल्ने काम कसरी अघि बढ्छ भन्ने पनि चासो र चिन्ता थप बढेको थियो । यो अभियान सफल भएलगत्तै संसारले सन्तोषको श्वास फे¥यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अमेरिकाको तर्फबाट १२ जना बच्चा र उनीहरुका प्रशिक्षकलाई सुरक्षित निकाल्ने विशेषज्ञ गोताखोरसहित थाई नौसैनिकलाई बधाई । यो धेरै रमाइलो र खुसीको क्षण हो, धेरै राम्रो काम भएको छ ।’
जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ताले ट्विट गरे, ‘प्रशसा गर्नेका लागि कुनै शब्द नै छैन । बहादुर बच्चा र उनीहरुका प्रशिक्षकको दृढता, उद्दारकर्मीको क्षमता र दृढ संकल्प ।’ यस्तै बेलायती प्रधानमन्त्री थेरेसा मेले भनिन्, ‘थाईल्यान्डको गुफामा फँसेका बच्चाको जीवनरक्षाबाट धेरै प्रशन्न भएकी छु । पूरै संसारले यसलाई नजिकबाट हेरिरहेको थियो र हामी यो अभियानमा सामेल बहादुरहरुलाई सलाम गर्छौ ।’
एजेन्सीको सहयोगमा

Comments
Post a Comment