मेक्सिकोमा वामपन्थीको अभूतपूर्व र ऐतिहासिक जित
केशरमणि कटुवाल
उत्तर अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने मेक्सिकोमा हालै भएको निर्वाचनमार्फत अम्लो नामबाट प्रख्यात वामपन्थी विचारधाराका नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । यो मेक्सिकोको इतिहासमा नै पहिलो पटक वामपन्थी विचारधाराका नेताको जित हो । उनले जित हात पारेको वामपन्थी पार्टी नेशनल रिजेनेरेसन पार्टी सन् २०१४ मा मात्रै स्थापना भएको हो । पार्टी स्थापनाको ४ वर्षमा नै राष्ट्रपतिको पदमा पुगेपछि ओब्राडोरले देशमा महत्वपूर्ण परिवर्तन हुन लागेको बताएका छन् ।
मेक्सिकोमा करिब ९० वर्षको इतिहासमा हरेक ६ वर्षमा राष्ट्रपतिको निर्वाचन हुँदै आएको छ । अहिलेसम्म देशका दुई प्रमुख पार्टी नेशनल एक्सन पार्टी (पीएएन) र इन्स्टिट्युशनल रिभोल्युशनरी पार्टी (पीआरआई) ले देशमा शासन गर्दै आएका छन् । सन् १९२९ देखि २००० सम्म पीआरआई पार्टीका उम्मेदवार राष्ट्रपति भए भने सन् २००० देखि २०१२ सम्म दुई कार्यकाल पीएएनले सत्ता सम्हाल्यो । फेरि २०१२ को चुनावमा पीआरआईले सत्तामा पुनः कब्जा जमायो र एनरिक पेना नेइटो हाल मेक्सिकोका राष्ट्रपति छन् ।
मेक्सिकोको पछिल्लो इतिहासलाई हेर्दा अब उनी त्यहाँको सत्ता सम्हाल्ने पहिलो वामपन्थी नेता समेत बनेका छन् । त्यससँगै यसलाई त्यहाँका नेताले पहिलो पटक दुई पार्टीलाई छाडेर तेस्रो पार्टी रोजेको रुपमा पनि हेरिएको छ । मेक्सिको सिटीका पूर्व मेयर ६३ वर्षीय लोपेज ओब्राडोरले ५३ प्रतिशत मत ल्याए । जसले निर्वाचनमा भ्रष्टाचारलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए । त्यतिमात्रै होइन उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका मुद्दालाई पनि आफ्नो चुनावी अभियानमा निशाना बनाएका थिए ।
तर, ओब्राडोरले चुनाव जित्नेवित्तिकै पहिलो बधाई तिनै ट्रम्पले दिए । उनले ट्विटमार्फत लेखेका छन्, ‘आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई मेक्सिकोको आगामी राष्ट्रपति बनेकोमा बधाई ।’ चुनाव प्रचारका लगातार अमेरिकी राष्ट्रपति ट्रम्पप्रति कडा शब्द प्रयोग गरेका ओब्राडोरले जितपछि अमेरिकासँग सहकार्य गर्ने कोशिस गर्ने बताए ।
उनका विपक्षीहरुले आफ्नो वामपन्थी नीतिबाट पहिले देखि नै घाटामा रहेको मेक्सिकोको अर्थव्यवस्थालाई ओब्राडोरले थप कमजोर पार्ने आरोप लगाएका छन् भने केहीले मेक्सिकोको अर्थव्यवस्था भेनेजुएलाको जस्तो हुने टिप्पणी समेत गरेका छन् ।
राष्ट्रपति पदमा महत्वपूर्ण जीत दर्ता गरेपछि लोपेज ओब्राडोरले आफ्नो भ्रष्टाचार अन्त्य गर्ने वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘भ्रष्टाचारका कारण नै अहिलेको राजनीतिक शासनमा यति ठूलो समस्या आएको हो । भ्रष्टाचारकै कारण देशको सामाजिक र आर्थिक अवस्था खराब भएको छ । साथै असमानता बढेको छ । यसका अलवा भ्रष्टाचारका कारण देशमा हिंसाका घटनाहरु पनि बढेका छन् ।’
उनले भ्रष्टाचारमा संलग्न आफ्नै परिवारको सदस्य भएपनि उसलाई माफी नहुने पनि स्पष्ट पारेका छन् । त्यतिमात्रै होइन उनलाई पछिल्लो समयमा मेक्सिकोमा बढ्दो हिंसा अन्त्य गर्ने चुनौती पनि रहेको छ । मेक्सिकोमा लागू औषध बेच्ने समूहहरुबीच हिंसात्मक झडपहरु भइरहेका छन् । चुनावी अभियानकै क्रममा भएका हिंसामा पनि १ सय ३० जना भन्दा बढी उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता मारिएका थिए ।
उनले आगामी डिसेम्बर १ मा एनरिक पेना नेइटोलाई विस्थापन गर्नेछन् । त्यसपछि के हुन्छ ? उनका नीतिहरु कसरी अघि बढ्छन् भन्ने कुरा विस्तारै प्रष्ट हुँदै जानेछन् । उनी भेनेजुएला र निकारागुवामा शासन गरिरसकेका चर्चित वाम नेताहरुलाई पछ्याउँछन् वा चिली र उरुग्वेका सामाजिक लोकतान्त्रिक लाइनलाई पछ्याउछन् भन्ने स्पष्ट भइसकेको छैन ।
यो प्रश्नको उत्तरले अमेरिका र त्यस क्षेत्रका अन्य देशको भावी राजनीतिमा समेत यसले प्रभाव पार्नेछ । यो अमेरिकासँग सीमा जोडिएको देश मात्रै नभएर दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक समेत हो । अम्लोले गलत मार्ग पछ्याए भने अमेरिकाको आप्रवासी, व्यापार र लगानी र सुरक्षा सहयोगका सम्बन्धमा समेत गम्भीर परिणाम देखिनेछ ।
परिवर्तनको बहस
चुनाव जितेपछि वामपन्थी नेता ओब्राडोरले मेक्सिकोमा ठूलो परिवर्तन ल्याउने बाचा गरेका छन् । तर, महत्वपूर्ण कुरा के हो भने उनले परिवर्तनको कुरा गरिरहँदा ओब्राडोरलाई राष्ट्रपतिमा निर्वाचित गराएको विषय बढी चर्चामा छ । किनकी उनले मेक्सिकोको पहिलो वामपन्थी राष्ट्रपति बन्ने मौका पाएका छन् । पूरै संसारमा दक्षिणपन्थीहरु विजयी बन्ने र वामपन्थीहरु कमजोर बनिरहेका बेला मेक्सिकोमा नयाँ इतिहास कोरिएको हो ।
को हुन् ओब्राडोर ?
आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरलाई आम मानिसले उनको नामको पहिलो अक्षर एएमएलओको आधारमा (अम्लो) को नामले चिन्छन् । यसअघि दुई पटक राष्ट्रपतिको चुनावमा पराजित भएका उनले यसपटक ५३.८ प्रतिशत मतसहित राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनको लोकप्रियता कति छ भन्ने कुरा उनका प्रतिद्वन्द्वीले २२.८ मात्रै भोट ल्याउनुले पनि प्रस्ट हुन्छ ।
ओब्राडोरको जितले मेक्सिकोका लागि केही खास अर्थ राख्छ । ७० वर्षमा मेक्सिकोमा दुई पार्टीको दबदबा रह्यो । कहिले रुढीवादी नेशनल एक्सन पार्टीको शासन चल्यो भने कहिले इन्स्टिट्युसनल रिभोल्युसनरी पार्टीले सत्ता चलायो । तर, यसपटक नेशनल रिजेनेरेशन मुभमेन्ट पार्टीको नेतृत्वमा रहेको तीन पार्टीको गठबन्धनका उम्मेदवार ओब्राडोरले त्यो सिलसिलामा पूर्णविराम लगाइदिएका छन् । धेरैले उनको जितलाई अप्रत्यासित जितका रुपमा ब्याख्या गरेका छन् । तर उनको जित अप्रत्यासित नभएर लामो प्रयास र मेक्सिकोको समाजमा रहेको उकुसमुकुपूर्ण जनजीवनको परिणाम हो ।
मेक्सिकोमा भ्रष्टाचार धेरै बढेको छ भने लागू औषधको समस्या गम्भीर बनेका मात्रै होइन लाखौं प्रभावित बनेका छन् । लाखौं मारिएका पनि छन् । मेक्सिकोका जनताले पुराना दुई पार्टीलाई धेरै भोट दिए, तर उनीहरुका समस्या समाधान चुनावी नारामा नै सीमित हुन पुगे । अझ भन्ने हो भने भ्रष्टाचार देखि लागू औषधसम्म ति पार्टीले खास काम गर्न सकेनन् । यसैलाई ओब्राडोरले मौकाको रुपमा उपयोग गर्दै आफ्नो नीति ति पार्टीहरुको भन्दा फरक हुने र काम गर्ने भरोसा दिलाए । अनि जनताले पनि उनलाई सत्तामा पु¥याइदिएका छन् ।
ओब्राडोरको व्यक्तित्व
अघिल्लो सरकारको असफलताको जगबाट ओब्राडोर यो चुनावमा अघि पर्न सफल भएका छन् । जनताले लामो समयको अस्तव्यस्तापूर्ण जीवनबाट मुक्तिको आशासहित उनलाई मौका दिए । व्यक्तित्वका हिसाबले पनि उनी मेक्सिकोमा चर्चित छन् । लामो समय समाजसेवा गरेका उनको पहिचान एक प्रशासक तथा बुद्धिजीवीको पनि छ । लामो समयदेखि उनी एक ‘एक्टिभिस्ट’ पनि हुन् । उनले ग्रामीण क्षेत्रमा धेरै काम गरेका छन् । अनि अर्को कुरा उनको छवी राजनेताको नभएर एउटा लेखकको पनि छ । उनले १४ वटा किताब लेखिसकेका छन् ।
यी सबैलाई हेर्ने हो भने उनको समग्र व्यक्तित्व एक बुद्धिजीवी, नेता, समाजसेवी र लेखकका रुपमा राम्रो छवि छ । उनले देशको राजधानी मेक्सिको सिटीको मेयर भएको समयमा पनि राम्रो काम गरेका थिए । ल्याटिन अमेरिकी देशमा मेयरको पद निकै महत्वपूर्ण मानिन्छ । त्यसैले पनि उसको राम्रो रेकर्डलाई आधार मानेर पनि जनताले उनलाई चुन्ने निर्णय गरेको हुन्छ ।
के यो वामपन्थीको जित हो ?
मध्यपन्थी पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका ओब्राडोर सन् २००२ मा वामपन्थी आन्दोलनमा सामेल भएका हुन् । उनले यसपटक निर्वाचनमा आफूलाई अहिलेको सत्ताविरोधीको रुपमा प्रस्तुत गर्दै अहिलेसम्म सत्तामा बसेका पार्टीलाई ‘सत्ताको माफिया’ घोषणा गरे । उनले वामपन्थी र जनवादी नीतिको प्रचार गरे र उनलाई भरपुर समर्थन पनि प्राप्त भयो । त्यसैले पनि उनको जितलाई मेक्सिकोमा वामपन्थी राजनीतिको उदय वा पुनर्जन्मका रुपमा हेरिएको छ ।
मेक्सिकोमा पहिलो पटक सत्तारुढ बनेको छ वामपन्थी पार्टी । तर ल्याटिन अमेरिकामा क्रान्तिको पुरानो परम्परा नै हो । तर जति पनि ल्याटिन अमेरिकी देशमा वामपन्थी आन्दोलनले स्थान लियो, ति सबै नाममात्रका हुन पुगे । भेनेजुएलामा ह्युगो चाभेज हुँदा सम्म वामपन्थी समाजवादीहरुको गढ थियो । त्यस समयमा चीन र रुसजस्ता देश समेत पुँजीवादी बाटोमा अघि लम्किइसकेका थिए । भेनेजुएलापछि मेक्सिकोमा वामपन्थी जबरजस्त रुपमा आउनु भूमण्डलीकरणप्रति त्यहाँका जनताको वितृष्णा पनि हो भने डोनाल्ड ट्रम्पको अपमानजनक नीतिको प्रभाव पनि यहाँ भेटिन्छ ।
अर्को के पनि हुनसक्छ भने लामो समयदेखि मेक्सिको भ्रष्टाचारबाट ग्रसित भएकाले जनतालाई वामपन्थी पार्टीले त्यसलाई अन्त्य गर्न सक्छ भन्ने लागेको पनि हुनसक्छ । उनीहरुको यो चाहाना भ्रम पनि हुनसक्छ किनकी वामपन्थीबाहेक अन्य पार्टीको सत्ता त्यहाँका जनताले देखिसकेका छन् । अर्को महत्वपूर्ण कुरा भनेको अब विश्वमा वामपन्थी आन्दोलन उठ्न कठिन छ र भइरहेका देशमा पनि कमजोर बन्दै जानेछ र पूजीवादी धारा नै अबको यात्रा हो भन्नेहरुका लागि यो एक गतिलो झापड पनि हो ।
ल्याटिन अमेरिका र मेक्सिकोको वामपन्थ अन्य स्थानको भन्दा अलग छ । त्यसैले पनि अहिले ओब्राडोरको तुलना भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेज, ब्राजीलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भासँग पनि गरिएको छ । ल्याटिन अमेरिकाको वामपन्थ चीन र रुसको भन्दा फरक चर्चबाट प्रभावित छ । मानिसहरुमा गरिब र पछि परेका मानिसलाई सहयोग गर भन्ने भावना चर्चबाट विकास भएको मानिन्छ ।
जुन समयमा विश्वभर नै दक्षिणपन्थी राजनीतिक दल र नेताहरुलाई समर्थन मिलिरहेका बेला मेक्सिकोमा वामपन्थीलाई अभूतपूर्व जनसमर्थन मिलेको छ । मेक्सिको पूजीवादी विश्वको त्यो देश हो, जहाँ उत्तर र दक्षिणबीच, धनी र गरिबबीच अन्तर छ । यहाँ विकास पनि भएको छ, अनि आदिवासी आधारभूत अवस्थामा पनि छन् ।
ओब्राडोरका चुनौति
ओब्राडोरलाई व्यापक जनसमर्थन प्राप्त छ । उनका विरोधी उनको नीतिलाई लिएर चिन्ता लिइरहेका छन् । उनीहरुले ओब्राडोरले मेक्सिकोलाई भेनेजुएलाको मार्गमा लैजान सक्ने आशंका पनि जनाइरहेका छन् । भेनेजुएला गहिरो आर्थिक संकट र महंगीको सामना गरिरहेको छ । मेक्सिको ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थव्यवस्था हो ।
अहिलेसम्म मेक्सिकोमा सत्ता सम्हालेका राष्ट्रले देशलाई मध्यपन्थी बाटोबाट हिडाइरहेका थिए । तर ट्रम्पको कडा विरोध गरेका ओब्राडोरले अमेरिकी राष्ट्रपति ट्रम्पसँग रुसले जस्तो टक्कर लिन सक्छन् ? भन्ने प्रश्न पनि छ । तर अर्को कुरा मेक्सिको रुस, चीन वा क्युवा जस्तो छैन । जस्तो मिथकीय व्यक्तित्व फिडेल क्यास्ट्रोको थियो, त्यस्तो ओब्राडोरको छैन ।
उनले चुनाव प्रचार अभियानका क्रममा तीन प्रमुख वाचा गरेका छन्– भ्रष्टाचारको अन्त्य, लागू औषध समस्या समाधान र देशको अग्रगति । यसका साथै उनका सामू अमेरिकासँग बिग्रदो सम्बन्ध सुधार गरेर अघि बढ्नुपर्ने जिम्मेवारी पनि छ । उनले समस्याको समाधानका लागि पहिलेको सरकारभन्दा अलग नीति अपनाउने कुरा गरेका छन् । यस्तो अवस्थामा उनले अपनाउने बाटो फाइदामूलक हुन्छ या हुँदैन हेर्न बाँकी छ ।
मेक्सिको सिटीको मेयरका रुपमा काम गर्दा ओब्राडोरको रेकर्ड हेर्ने हो भने उनले भ्रष्टाचारलाई न्युनिकरण गरेका थिए । तर देशको प्रणालीमा हुने समस्याले पनि सफलता वा असफलता दिन सक्छ । यो प्रणालीबाट बाहिर निस्कन सजिलो पनि छैन । यसवर्ष तीन वटा चुनाव एकसाथ भएकाले पनि सबै क्षेत्रबाट भ्रष्टाचारलाई रोक्न उनलाई सहज हुनेछैन ।
अर्को कुरा लागू औषध नियन्त्रणका लागि मेक्सिकोमा कुनै एक व्यक्तिले त्यतिधेरै गर्न सजिलो छैन । ल्याटिन अमेरिकी देशमा लागू औषध प्रमुख समस्याको रुपमा रहेको छ । यसमा अमेरिकी सहयोगको पनि आवश्यकता छ । सन् १९७४ मा रिचर्ड निक्सनले यो अभियान सुरु गरेका थिए । लागू औषधकै कारण पछिल्ले ११ वर्षमा २ लाख मानिस मारिएको बताइन्छ ।
लागू औषध त्यहाँको गम्भीर सामाजिक समस्या बनिसकेको छ र जनता हैरान बनेका छन् । ओब्राडोरले यो दिशामा काम गरे भने उनलाई आम जनताको समर्थन मिल्ने निश्चित छ । उनले लागू औषध नियन्त्रणका लागि तीन तरिका अपनाउने बताएका छन् । त्यो कत्तिको प्रभावकारी बन्छ भन्ने समयले पक्कै बताउला किनकि यसका लागि लागूऔषध कारोबारीसँग हुने भीषण संघर्षको सामना गर्न तयार हुनुपर्छ ।
अर्को प्रमुख चुनौती अमेरिकासँगको सम्बन्ध नै हुनेछ । देश आर्थिक विषमतासँग जुधिरहेको छ । गरिबीसँग लड्नु, भ्रष्टाचारको मुकाबिला गर्नु र लागू औषध तस्करसँग पौठेजोरी खेल्नुछ । वामपन्थी ओब्राडरमाथि अमेरिकाले विगतमा भन्दा दबाब पक्कै बढाउने कोशिस गर्ने छ । देशको आन्तरिक समस्या समाधानका साथै बाहिरी दबाबको मुकाबिला कसरी गर्छन् भन्ने कुराले उनको भावी राजनीतिक यात्रा तय गर्नेछ ।

Comments
Post a Comment