खस जातीको संक्षिप्त इतिहास



खस
खस–(प्ज्ब्क्) आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरु पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाती तत्कालिन विशाल नेपाल (हाल भारतमा पर्ने हिमाचल प्रदेश तथा उतराखण्ड) का साथै सुदूर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग ऐतिहासिक कालखण्ड देखि बसोबास गरेको हो । त्यहाँबाट खसहर नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्राय: सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरुको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू–भाग पूर्वमा आसाम देखि पश्चिममा काश्मिरसम्म, हिमाञ्चल प्रदेश तथा उतराखण्ड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन् । 
खसहरुको मातृभाषा खस कुरा हो जुन हजारौ वर्षको अन्तरालमा विकशित, विस्तारित र परिमार्जित हुँदै हालको नेपाली भाषा बनेको हो ।

खस जातिका मुख्य हाँगा
बाहुन 
क्षेत्री 
ठकुरी 
सन्यासी–योगी (दसनामी)
कामी
दमाई 
सार्की 
गन्धर्व 
बादी
को हुन् खस ?
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ । इतिहासविदहरुको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरुलाई हाम्रा अगाडि ल्याएको छ । ती तथ्यहर नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन् । प्राज्ञिक मानव समुदायको चिया गफमा प्राय: यो भनाई एउटा कहावतका रपमा लिने गरिन्छ । जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन । जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन ।  यसले मानव जातिको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ । 
मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ । इतिहासविदहरुले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् । (१) आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन । राज्य र त्यसका सीमाहरु पनि थिएनन् । मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। (२) मानव जातिको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ । (३) पुरात्वविद्हरुले मानव जातिले प्रयोग गरेका उपकरणहरको सामग्रीलाई हेरेर युगहरुको विभाजन गरेका छन् । ती हुन्– पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो । (४) पुरातत्वविद्हरुले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन् । जस्तो मिश्रको सभ्यता, माया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङहो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन् । ग्रीकबाट त आजको विश्वनै ऋणी छ । मिश्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ । (५) यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र जातिहरुको अस्तित्व तथा विकास भएको पाइन्छ । यही राज्य, साम्राज्य र जातिहरुको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ । कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन् । (६) पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रपमा परिचित भइसकेको थियो । लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए । यो १००० वर्ष ई.पू.को कुरा हो । त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा जस्तालाई त्यस्तै खुनको बदला खुन भन्ने विधानमा आधारित न्यायप्रणाली थियो । यिनै हम्बुरावीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए । खसहरुको आक्रमण जारी रह्यो । सन् १७०० ई.पू.देखि ११५५ सम्म खसहरले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए । ई.पू. १७०० देखि ११५५ सम्म खसहरले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरु पाइन्छन् । यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ । खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि । भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन् ।

खसहरु आर्य भए पनि वैदिक आर्य होइनन् । (८) यिनीहरु इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा बिशाल नेपाल प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए । (९) यो तथ्यले नेपालमा अहिले बाक्ला–बाक्ला तथा अन्य जातिहरुसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य खसहरु (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन्, यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरसित मेल खाँदैनन् । बाह्रौ शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए । (१०) पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौ शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ । नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरुले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए ।
पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ । (११) पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.सं. १४३५–४६) पछि बिलायो । (१२) यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँदाहुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ, गढवाल हुंदै पश्चिम नेपाल छिरेका खसहरुको साम्राज्य विलाए तापनि नेपालमा हजारौं वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ । खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरुबाट खस जातिका थरहर उत्पत्ति भएका छन् ।

जस्तै: अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्माधिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा

कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरु
जुम्ला
धिता– धिताल, पाण्डुसेरा– पाण्डे, सिञ्जा– सिंजापति, चैडिलागाउँ –चौलागाई, प्याकुरी– प्याकुरेल, सिम्खाडा– सिम्खडा,

अछाम
तिमिल्सैन– तिमिल्सिना वा तिम्सिना, घमिराउँ– घिमिरे, देवकोट– देवकोटा, ढुङग्रानी– ढुङगाना, ढाँकु– ढकाल, बजगाउँ– बजगाई, रिमा– रिमाल, स्वाँरा– स्वार, घोडासैन– घोडासैनी, पुरासैन–पुडासैनी, धमाली– धमला, दर्ना–दर्नाल, कुइका– कुइकेल, चाल्सा– चालिसे, बारला– बराल,
बझाङ
रेगम– रेग्मी, सोत– सोती, खार– खरेल, खराल, सुवाडा– सुबेडा, सुवेदी, बयाना– बनियाँ, बानियाँ
बाजुरा
जमकट्टेटी– जमरकट्टेल, छाती– छन्त्याल, कुँडी– कुड्याल, बेलकाटे– केलकाटिया, खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल, निरौली–निरौला, ओझाना– ओझा, बोगटान– बोगटी, मुडभरा– मुडभरी
मुगु
खनाया– खनाल, कालैगाउँ– कल्यान, खत्याड– खतिवडा
दैलेख
लामाछान्नी– लामिछाने, बाँस्कोट–बास्कोटा, बाँस्तोली– बास्तोला, सातला–सत्याल, लुयाटी– लुईटेल, चापागाउँ– चापागाईं, नेपा– नेपाल, रिजु– रिजाल, पोखर– पोखरेल, लम्सु– लम्साल, लम्जी– लम्जेल, दह–दाहाल, दहाल, गैरा–गैरे, भूति– र्भूर्तेल, पराजुल– पराजुली, कोइराली– कोइराला, दवाडा– दवाडी, कट्टील– कट्टटेल, भुषाकोट– भुषाल, सुइय– सुञ्येल, वड– वडाल, मोडासैन– मरासैनी, मरासिनी, गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने, भुतौ– भुर्तेल, राँचु– रुचाल, गेला– गेलाल, वञ्जाडा– वञ्जाडे, बाँझकोट– बाझकोटा
रुकुम
सर्पुकोट– सापकोटा
दाङ
रजौरा– रजौरिया
मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरुको नाउँबाट नेपालका खसहरको थर निर्धारण भएको परिदृष्यमा खसहरु यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिंदैन । पुराणहरुमा नेपालाई जम्मुद्धिप भनिएको छ । नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरुको तपोभूमि तथा खस राजाहरको विहार गर्ने स्थानका रपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस जाति यहाँको अनादीवासी जस्तो देखिन्छ । तर खोजकै विषय छ किराँत राजाले कुरक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन् । खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् जस्तै पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर, महत (१३) आदि सम्पूर्ण त्यसमा पर्दछन् । वर्तमान कुमाउँ मण्डल खसमा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय जातिको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो । (१४) अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ । जसको अर्थ कस्सहरको सागर भन्ने हुन्छ । यस्तै कस्स जातिको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो । बैदिक साहित्यमा यो जातिलाई कास भनिन्थ्यो । असुरहरुसित रक्तमिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो । रामायण महाभारत लगायतका हिन्दू पुराणहरुमा यो जातिलाई खस या खश भनिएको छ । मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ । कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरुले खसहरुको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे । उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिरिटिस शासकहरले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसंख्यालाई खस या खसिया मुलुक नामाङकन गरे । (१५) इतिहासमा एउटा प्रभावशाली जातिका रपमा रहेका खसजातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन । यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो । (१६) यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन । यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमश: छोड्दै गएको पाइन्छ । यसको निवास्थान कहाँ हो ? यी आज कहाँका रैथाने मानिन्छन् त ? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य जाति (१७) भन्ने उल्लेख छ । यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत : पहाडी भाग, पर्वतहरुको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ । धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरुको सस्कृतिसँग घुलमिल भई जनजातिका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन । अहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ । नेपाली खस भारतवर्षमा प्रवेश गरेपछि बैदिक आर्यहरुसँग सम्पर्क हुन जाँदा खस आर्यहरु पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए । प्राचीन खसहरु ब्राम्हण बन्ने प्रक्रिया प्राचिन पौराणिक कालमा मात्र सीमित भयो । मध्यकालमा सत्तामा पुगेका खसहरु ठकुरी बने । खसहरु तागाधारी क्षेत्री बन्ने चलन कायमै छ । तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भन्निछन् । (१८) खस आगमन पहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो । अहिलको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए । मगरातमा मगर मुखियाको शासन थियो । गण्डकी प्रदेशको उत्तरी भागमा गुरुङ जातिका कविला राज्यहरु थिए । कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरुको मध्य तथा पूर्वी पहाडी नेपालतिरुको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो । जुम्लाको सिञ्जालाई राजधानी बनाइ त्यहाँबाट फैलिएका खसहरु (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरुलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ । जस्तै उदाहरणका लागि पर्साइ, सिटौला, ओली, कुमाई हुन् । भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन् । खसहरुको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ ।

खस र किराँत

खस किराँत दुई भिन्न रगत होइनन् ती दुवै एकै किङिगज –किर र काशी) महाजातिका दुई शाखा हुन् । किराँतहरुभित्र लासा गोत्रका लुम्मु (लेय आझ अर्थात् सौहिक मूलका लिम्बुका पूर्वज)ले प्रवेश गर्नुभन्दा पहिलो किराँतको काशी गोत्र थियो । मध्ये एसियाको किङिगज किर (किराँत) र गिज (काशी)को साभा विभेद विन्दू हो । त्यहाँबाट विभत्त हुनुपूर्व ति दुवै एक थिए। 
खस र लाङघालीहरु

खस जातिको प्राचिन इतिहासलाई हेर्दा खस र लाङघालीहरु (मगर आदि) को सम्बन्ध पनि अनादिकालिन बन्धकका रुपमा देखिन्छ । अहिले हस्तिहरुको उत्थानको युगमा अनेकौं काशी (खस) हरु गज (नाग अथवा लाज्ञद्धढा)मा परिणत भएका थिए । आदित्य मित्तानी युगमा खस (गज) हरु पृथ्वीका सबै दिशामा दिग्गजका रुपमा तैनाथ भएका थिए, पछि नेपालका कैयौं लाङघाली जाति खस जातिमा प्रवेश गरेका थिए । नेपालका खसको विहेमा मगर नास्ती र मगरको विहेमा खस नास्ती भन्ने प्रचलन छ । यो प्रचलन असाध्यै पुरानो प्रचलन हो । तर यसले खस र लाङघाली (मगर आदि) का बीचमा असाध्यै लामो सामाजिक सम्बन्ध भएको देखाउँछ । पराक्रमको आधारमा कतिपय लाङघालीहरु खसमा रपान्तरण भएको र कतिपय खसहरु लाङघालीमा रुपान्तरण भएका प्रशस्त ऐतिहासिक तथ्यहरु र जनश्रुती पाइन्छ । अहिले हामीले नेपाली समाजमा खस बाहुन र लाङघालीहरुका थरमा पनि समानता पाउँछौं । जस्तै बराल, थापा, खड्का, लामिछाने, बुढाथोकी, भण्डारी आदि लाङघाली र खस दुवै जातिका थर हुन् । जनश्रुतिलाई मान्ने हो भने त बुढाथोकी मगरहरुले अझै पनि कहीं कहीं आफूलाई खसको सन्तान भन्न हिच्किचाउँदैनन् । बालकृष्ण पोखरेलका अनुसार मगर र खसको नाता धेरै सन्निकट छ । आज कोही खसहरुलाई पावई अर्थात् मलवाली क्षेत्रका रुपमा पाउँदा र उहिले केही मगरहरुलाई राजसि (ब्राम्हण, नरेस) का रुपमा पाउँदा सन्निकटताको यो पक्ष प्रष्टिएर आउँछ ।

खस र तामाग

स्थुलरुपमा तामाङ अथवा अस्वगण भित्र नेवार, तामाङ, थारु, गुरुङ र थकालीलाई पाउँछौं । उहिले केही काशी खसहरुले पनि अस्वगण भित्र प्रवेश गरेका थिए भन्ने कुरा घोडावाजी फ्रान्सेली शब्द गाजी (तुलनीय संस्कृत बाजी) ले पनि प्रदान गर्दछ । यसबारे पहिलो भागको सातौं अध्यायमा विशेष रुपले भनिएको छ । केही खसहरु (चन, थकाली, अधिकांश नेवार देउभाजु आदि)ले समाजमा प्रवेश गरेका छन् । लाखे थरका नेवाहरु लाङघाली मूलका ठहरिनु सम्भव भए झैं बैद्य थरका नेवारहरु विशुद्र तमुगण मूलका ठहरिनु सम्भव छ । भन्नाले तङगण समूहका नेपाली र खसहरुका बीचमा पनि रगतको दोहोरो आदान प्रदान भएको छ । (२२) यसबाट के देखिन्छ भने आर्यरुपी खस जाति र मंगोलियनका बीचमा रक्त सम्बन्ध मात्र होइन जातीय समागम भएको पनि देखिन्छ । केही किराँतहरले अहिले पनि आफूहरुलाई तागाधारी वा जनै लगाउने जातिका रुपमा दावी गर्दैछन् । जनै लगाउन पनि थालेका छन् । बरु संस्कृति र परम्परामा त्यति कट्टर नभएको खसले जनै लगाउने परम्परालाई विस्तारै छोड्दै गएको देखिन्छ ।

खस भाषा

बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरुले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ । कस अर्थात् खसहरु बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरुले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ । ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियर्सनले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन् । पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ । खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो । पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो । यो (२२) खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ । यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ । आज हामीले नेपाली भाषाका रुपमा बोलिने खस भाषा यही अवस्थामा थिएन । साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ । विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरुले ग्रहण गरेका र विस्तार भएको देखिन्छ । २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन् । अन्य मातृभाषा बोल्ने जनजातिहरुले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन् । यसबाट नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रपमा स्थापित भएको छ । जसरी संस्कृत भाषालाई स्थापित गराउने राज्य तहबाटै जोड दिइरहदा पनि संस्कृत भाषा जटिल भएको कारणले जनजिब्रोमा स्थापित हुन सकेन । नेपाली या खस भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका साथसाथै भाषामा रहेको सरलता पनि हो ।

नेपालको खस अंग

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । नेपाली समाजका विविध अंगहरु छन् । जस्तै लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरु, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झा, लाङघालीहरु, नेवार, तामाङ, गुरुङ र थारु झै केही हिमाली, राव, तराइलीहरु । यी अनेकौं अंगहरु मध्ये खस नामक अंगले पनि नेपाली हुनुमा गौरव मान्दै आएको छ । (२४) नेपालको एकिकरण राष्ट्रिय एकता तथा अङग्रेजी साम्राज्यवादका विरुद्धको संघर्षमा नेपालको इतिहासमा खस जातिले बलिदानीपूर्ण संघर्ष गर्दै आएको छ । नेपालको वर्गीय मुत्ति र सामाजिक मुत्ति आन्दोलनमा पनि खस जाति महत्वपूर्ण भूमिकामा रहेका देखिन्छ । वर्गीय समाजमा यो जाति इतिहासको शासक मात्र होइन शासित र उत्पीडित रैतीका रुपमा पनि रहंदै आएको छ ।

सामाजिक इतिहासमा खस

माथि नै बताइसकिएको छ कि खसहरु आर्य हुन् तर बैदिक आर्य होइनन् । एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो । राजा भारदार र सामान्य प्रजा समेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे । (२५) तिब्बती लामाहरुका दृष्टिमा खसहरु बोधिसत्वतार नै थिए भने कुमाउँ र गढवालका हिन्दूहरुका अगाडि खसहरुले आफूलाई संस्कारका भत्तका रुपमा उभ्याउँथे । खसहरुमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन । त्यसैले अवैदिक आर्य भइकन पनि खसहरुलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ । कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कुमाउँ हुंदै नेपाल पसेको खस जातिले नेपालमा प्रचलित रहेका मंगोलियनहरुलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरुले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमा टिकाका रपमा अनुसरण गर्‍यो । अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ ।
प्राग ऐतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो । नेपालका आर्य खस र मंगोल दुवै बाहिरबाट आएर बसेका जाति हुन् । मंगोलियन जातिको नेपाल प्रवेश मुख्यत: उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ । भने खसहरु पश्चिम नेपाल प्रवेश गरेका थिए । यी मुख्य जाति बाहेक अन्य जातिको अस्तित्व भएता पनि नेपाली समाजको मुख्य धारा निर्माणमा यी दुई मुख्य जातिको भूमिका रहेको देखिन्छ । यी दुई जाति मध्ये पुराणलाई छोड्दा नेपालमा मंगोलियन जातिको प्रवेश पहिले भएको देखिन्छ । (२६) सांस्कृतिक हिसाबले हेर्दा नेपाली संस्कृति मंगोलियन र खस आर्यहरुको मिश्रित सस्कृतिको प्रतिमानका रुपमा उभिएको देखिन्छ । नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको संघर्ष नेपालमा भएन । (२७) खसहरुले नेपालमा पहिले प्रवेश गरेका मंगोलियनहरुलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन् । यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय संघर्ष भएन । दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ । (२८) नेपालका यी जातिहरुका बीचमा र अन्य जातिहरुका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ । नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रुपमा अरुले पनि मूल्यांकन गर्ने गरेका छन् ।

Comments

Popular posts from this blog

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास