नेपाली क्रिकेटको ऐतिहासिक सफलता र आगामी बाटो
–केशरमणि कटुवाल
देशको व्याप्त बिकृति बिसंगति, असामान्य राजनितिक अवस्था, बढ्दो महङगी र कालोबजारीले जनता आक्रान्त बनेका बेला नेपालीहरुलाई हर्षित बन्ने एउटा अवसर प्रदान गरेको छ नेपाली क्रिकेटको ऐतिहासिक सफलताले । थोरै स्रोत साधन र कमजोर व्यबस्थापनकाबीच नेपाली क्रिकेटले अन्तराष्ट्रिय खेलकुदमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता दिलाउन सफल भएको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आईसिसी विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल च्याम्पियनमात्र बनेन प्रतियोगितामा अपराजित एकमात्र टिम बन्दै डिभिजन तीनमा उक्लन समेत सफल भयो । अन्तराष्ट्रिय क्रिकेटमा प्रबेश गरेको करिब १६ बर्षको अवधिमा नेपालले हासिल गरेको यो सबैभन्दा ठुलो सफलता हो ।
त्यतिमात्र होइन नेपालको अन्तराष्ट्रिय भूमिमा प्राप्त सबैभन्दा ठुलो उपाधि पनि हातपार्न सफल भएको छ । नेपालले लिग चरणमा सिंगापुर, मलेसिया, तान्जानिया, अमेरिका र डेनमार्कलाई सहज रुपमा पराजित गर्यो भने उपाधि भिडन्तमा अमेरिकालाई फेरी ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । मलेसियामा नेपाली खेलाडिहरु शक्ति गौचन, अमृत भट्टराई, बसन्त रेग्मी, अनिल मण्डल लगायतले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाललाई अघिल्लो डिभिजनमा पुग्नबाट कसैले रोक्न सकेन । मलेसियाको राजधानी क्वालालम्पुरको किनरारा क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले संयुक्त राज्य अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा बढुवा भयो । डेनमार्कसंगको समुह चरणको आफ्नो अन्तिम खेलमा जित हात पारसंगै छनौट हुने सुनिश्चित भइसकेको भएपनि नेपालका लागि प्रतियोगितामा अपराजित रहादै उपाधि जित्नु प्रतिष्ठाको विषय समेत बन्यो ।
नेपाल सन् २०१० को अगष्टमा इटलीमा सम्पन्न डिभिजन चारमा तेस्रो भएपछि २०११ को वल्र्ड क्रिकेट डिभिजन तीन खेल्ने नेपालको सपना चकनाचुर बनेको थियो । त्यसबेला तान्जानिया जस्तो कमजोर टोलीसंग हार्नु नेपालको डिभिजन तीनमा पुग्ने बाटो बन्द हुने प्रमुख कारण बनेको थियो । यसकपटक भने उपाधि संगै सन् २०१५ मा हुने बिश्वकप छनोटको सम्भावना समेत जीवित बनेको छ ।
विश्वकप यात्रामा नेपालको तगारो
आगामी सन् २०१३ अप्रिंलमा बर्मुडामा हुने डिभिजन ३ मा नेपालले अमेरिका, इटली, युगान्डा, बर्मुडा र ओमानसांग प्रतिस्पर्धा गर्नेछ । डिभिजन तीन र दुईको फाइनलको यात्रा तय गर्नसके नेपाल वान डे क्रिकेटको विश्वकपका लागि छनोट हुने जो त्यति सजिलो भने छैन । सन् २०१५ मा अस्ट्ेरलिया र न्युजिल्यान्डमा वान–डे क्रिकेटको विश्वकप हुदैछ ।
डिभिजन चारमा नेपाली खेलाडिहरुको प्रदर्शन
आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–४ मा सहभागी नेपाली खेलाडिहरुको चर्चा गर्ने हो भने प्राय सबै खेलाडिहरुले राम्रो प्रदर्शन गरेका थिए । राम्रो फिल्डिङ गरे व्याटिङमा जम्न नसक्ने र राम्रो व्याटिङ गरे फिल्डिङमा कमजोर देखिने नेपालको पुरानो बिरासत यसपटक देखिएन र टिम गेम र विनिङ स्पिरिटमा राम्रो देखियो । नेपाली बलरहरुले बिगतको जस्तो धारिलो बलिङलाई यसपटक अझ निखार्दै उत्कृष्ट तय समाते भने व्याटिङ पहिले भन्दा निकै राम्रो थियो । नेपाली खेलाडिहरु सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मन्डलको ब्याटिङ तथा अमृत भट्टराई, शक्ति गौचन, र बसन्त रेग्मीको बलिङ अनि कप्तान पारस खड्काको अलराउन्ड प्रदर्शनकाबीच नेपाल प्रतियोगिताका अन्य टिमभन्दा निकै उत्कृष्ट सावित भयो ।
नेपालका लागि डिभिजन चारमा शतक प्रहार गरेका सुवास खकुरेल र अनिल मण्डलको व्याटिङ राम्रो रह्यो । तेस्रो सर्वाधिक रन बनाएका सुबास खकुरेलले अमेरिका बिरुद्ध शतक प्रहार गरेका थिए भने मण्डलले डेनमार्क बिरुद्ध १ सय १३ रनको व्यक्तिगत योगदान गरेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले अमेरिका बिरुद्धको फाइनल खेलमा सर्वाधिक ६६ बनाएका थिए । यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सावित भएका बायाा हाते स्पिनर बसन्त रेग्मीले ४९.५ ओभर फ्यालेका उनले ६.६६ को औसत र २.८ को इकोनोमी रेटमा २१ विकेट लिएका थिए । रेग्मी अमेरिका बिरुद्धको समुह चरण र फाइनलमा समान ५–५ विकेट लिन सफल भएका थिए । त्यस्तै शक्ति गौचनको योगदान पनि चर्चा गर्न योग्य रह्यो । उनले ४७ ओभरमा ९.८ को औसत र २.०७ को इकोनोमी रेटले १० विकेट हात पारे । मलेसियाविरुद्ध उनले दश ओभरमा ८ मेडन सहित ३ रन दिएर २ विकेटको उनको प्रदर्शन अन्तराष्ट्रिय एक दिवसिय क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शन मध्येको एक हो । नेपाली टिमका कप्तान पारस खड्काले प्रतियोगितामा नै सर्वाधिक ७ क्याच लिएका थिए ।
नेपाली क्रिकेटको अबको बाटो
राम्रो क्षमता हुदाहुदै पनि उत्कृष्ट प्रदर्शन गर्न नसक्नु र आफूभन्दा कमजोर मुलुकहरुसंग हारको सामना गर्नु जस्ता नेपाली क्रिकेटको बिडम्बनालाई यसपटक भने खेलाडिहरुले दोहोरिन दिएनन् । छोटो समयमा गरिएको तयारी र घरेलु प्रतियोगिताको कमीका बाबजुत पनि नेपाली क्रिकेटले जुन सफलता पाएको छ, यो अति प्रशंसनीय छ । नेपाली टिमका प्रशिक्षक पुबुदु दशानायकेले टिम सम्हाल्दाका दिनहरु निकै कठिन थिए । नेपाली टिम सम्हालेका दासानायकेको उत्कृष्ट रणनीति र दुरदर्शिताका कारण नेपाली युवा तथा प्रतिभाशाली र अनुभवी खेलाडीहरु सम्मिलित नेपाली टोलीको यो सफलता नेपाली क्रिकेटको भावी दिनमा पनि स्मरणीय रहने छ ।
क्रिकेटमा गरिएको राजनीतिकरण र सरकारी तहबाट बारम्बार उपेक्षामा पर्दै आएको नेपाली क्रिकेटलाई विकास गराउन स्थिरता प्रदान गर्नु आवश्यक छ । क्रिकेट खेल्न सरकारी क्षेत्रबाट नै प्रोत्साहन, आर्थिक संकटबाट पलायन हुनुपर्ने अवस्थाबाट मुक्ति र घरेलु प्रतियोगिताका साथै समय–समयमा बिदेशी बलिया टिमसंग मैत्रीपूर्ण खेलको आयोजना गर्ने हो भने बर्तमान अबस्थामा सुधारका साथै आफ्नो वास्तविक क्षमताको पहिचान गर्न सकिन्छ । त्यसैले सरकार र सम्बन्धित निकाय गम्भीर भएर लाग्ने हो भने विश्वकप खेल्ने आशालाई वास्तबिकतामा बदल्न सकिन्छ । त्यतिमात्र होइन खेलकुदको क्षेत्रबाट नै अन्तराष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउन सक्ने क्षमता विकास गर्न सकिन्छ । नेपालको राजनीति र अन्य क्षेत्रमा व्याप्त बिकृति र विसंगतिका बाबजुत पनि नेपाली क्रिकेटरहरुले नेपाल पनि सक्षम छ भनेर प्रमाणित गरेका छन् । तर यसलाई निरन्तरता दिनको लागि राज्य तथा समग्र खेलकुद क्षेत्रमा क्रियाशील संस्थाहरु लाग्छन की लाग्दैनन् त्यो भने हेर्न बाकी रहेको छ ।
Comments
Post a Comment