प्रचण्डलाई कुट्नेमाथि कति होला सजायँ ?



२ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई बाग्लुङका पदम कुँवरले शुक्रबार सार्वजनिक स्थलमा थप्पड हाने । तत्कालै बसेको एमाओवादी पदाधिकारी वैठकले घटनालाई देशी, विदेशी प्रक्रियावादीको नियोजित खेल बतायो । माओवादी कार्यकर्ताको सख्त पिटाइ खाएका कुँवर यतिबेला प्रहरी अस्पतालमा उपचारत् छन् । जंगबहादुरका पालाको कानून भएको भए प्रचण्डलाई पिट्नेमाथि पैंचो चुक्ता भैसकेको छ, तर लोकतन्त्र र कानूनी शासनलाई मान्ने हो भने प्रचण्डको गालामा थप्पड हान्नेमाथि अब कानुनबमोजिम सजायँ हुनेछ । तर, नेपालको कानूनअुनसार प्रचण्डमाथि कुटपिट गर्नेलाई के-कति सजायँ होला ? यस विषयमा नेपाली कानून अस्पष्ट र दुर्बल छ ।
पदम कुँवरमाथि दुईवटा कानुन लाग्न सक्छन्, एउटा मुलुकी ऐनको महल ९ अनुसार ‘कुटपिटको’ र दोस्रो सिडियोले गर्ने कारवाही अन्तरगत केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन । कुँवरले साथमा धारिलो हतियार नबोकेको र खुनी प्रकारको आक्रमण नगरेका कारण उनीमाथि ‘ज्यान मार्ने उद्योग’ जस्तो कडा कानुन प्रभावित हुने स्थिति छैन । कानून सबैलाई समान हुने हो भने प्रचण्डलाई कुटे पनि वा सामान्य नागरिकलाई कुटे पनि दोषीमाथि एउटै सजाँय हुन्छ ।
कुटपिटको महल
मुलुकी ऐृन ‘कुटपिटको’ महल १ मा भनिएको छ- ‘कसैले कसैलाई हात हतियार उठाई वा अरु कुनै प्रकारले रगतपच्छे वा चोट अंगभंग पारेमा वा जीउमा अरु पीडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको ठहर्छ ।’ तर, मुलुकी ऐनमा कुटपिट गरी अंगभंग वा घाउ खत नभएकोमा कुनै पनि सजायँको व्यवस्था गरिएको छैन । महल नं ११ मा कुटपिट गरी नील पारेमा एक नीलको एकसय रुपैया जरिवाना उल्ल्ेख गरिएको छ । दाँत भाँच्नेलाई एक दाँतको तीन सय जरिवाना उल्लेख छ । जीउमा पीडा पुर्‍याउनेलाई पीडा विचार गरी अढाइसय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । कुटपिटबाट अंगभंग भएको खण्डमा चाँहि खत हेरी ८ वर्षसम्म कैदको व्यवस्था मुलुकी ऐनमा गरिएको छ ।
पदम कँवरलाई कुटपिटअन्तरगत कारवाही चलाउने हो भने प्रचण्डले सर्वप्रथम आफ्नो घाउजाँच गराउनेदेखि लिएर प्रहरीसमक्ष कुँवरविरुद्ध नालिस गर्नुपर्छ, त्यसपछि बल्ल मुद्दा अगाडि बढ्छ । घाउचोट नलाग्ने गरी बेइज्यत गर्ने उद्देश्यले सार्वजनिक ठाउँमा सामान्य झापड हान्नेलाई कति सजायँ गर्ने भन्ने व्यवस्था मुलुकी ऐनमा छैन । नेताहरु आफैं कानून बनाउने ठाउँमा छन्, त्यसैले यस्तो अव्यवहारिक कानूनलाई बेलैमा समयानुकूल सुधार गर्न जरुरी देखिन्छ ।
केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन-२०२८
चोट नलाइगे गरी कुटिएको घटनामा प्रहरीले केही सार्वजनिक अपराध ऐन अनुसार पनि मुद्दा चलाउन सक्छ । जस्तो कि एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने देवीप्रसाद रेग्मीविरुद्ध यही ऐन अन्तरगत मुद्दा चलाइएको थियो । सार्वजनिक अपराध ऐनको दफा २ (ख) मा ‘सार्वजनिक स्थानमा छुटपीट वा हुल हुज्जत गरी शान्ति भंग गर्ने’ कार्यलाई सार्वजनिक अपराधको परिभाषाअन्तरगत राखिएको छ । सो ऐनको दफा ३ अनुसार प्रहरीले दोषीलाई घटनास्थलबाट विना वारेन्ट पक्राउ गर्न सक्छ । प्रहरीले त्यस्तो व्यक्तिलाई ७ दिनभित्र प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउनुपर्छ । म्याद थप्दै दोषीलाई प्रहरीले ३५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न पाउँछ । यस्तो मुद्दा लागेको दोषीमाथि मुद्दाको शुरु कारवाही किनारा गर्ने अधिकार ऐनको दफा ५ ले सिडियोलाई दिएको छ । सीडियोको निर्णयमा चित्त नबुझे पुनरावेदन अदालतमा पुनरावेदन गर्न पाइन्छ ।
कुँवरमाथि कति सजायँ होला ?
सार्वजनिक अपराध ऐनको दफा ६ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कुँवरलाई ३५ दिन हिरासतमा राख्न आदेश दिन सक्नेछन् । पीडितपक्षको चश्मा फुटेकोमा सीडीओले बिगो भराउनुका साथै दोषीमाथि १० हजार रुपैयाँसम्मको जरिवाना सुनाउन सक्नेछन् । जरिवानाले मात्रै नपुग्ने भई थुनामै राख्नुपर्ने भएमा दुईवर्षसम्म कैदका लागि पुनरावेदन अदालतसमक्ष प्रजिअले लेखी पठाउन सक्ने कानुनमा व्यवस्था छ । यो व्यवस्थाअनुसार कुँवरले बढीमा अब ३ महिना थुनामा बस्नुपर्ने देखिन्छ । थप थुनामा राख्नेबारे काठमाडौंमा प्रजिअले पुनरावेदन अदालत पाटनमा लेखी पठाएमा कुँवरले प्रचण्डसँग मुद्दा लड्नुपर्ने छ ।
माफी पाउन सक्ने
न्यायको सिद्धान्तमा ठूला मानिसहरुले सामान्य मान्छेसित मुद्दा मामिलामा अल्मलिनुलाई शोभनीय मानिँदैन । यस्तो अवस्थामा सामान्य मान्छेले आवेशमा आएर गरेको कामप्रति माफी दिने प्रचलन छ । प्रचण्डमाथि हातपात गर्ने कुँवर विगतमा प्रचण्डकै कार्यकर्ता रहेकाले उनीमाथि प्रचण्डले तत्कालै माफी दिए भने त्यसलाई नेताको महानता मान्न सकिन्छ । माओवादी नेता झक्कुप्रसाद सुवेदीले पनि आफूलाई पिट्ने व्यक्तिलाई माफी दिएका थिए । एमाले नेता झलनाथ खनालले पनि निकै ढीलो गरी माफी दिएका थिए । आफूमाथि कुर्सी प्रहार गर्ने कार्यकर्तामाथि कांग्रेस सभापति सुशील कोइरालाले तल्कालै सहानुभूति व्यक्त गर्दै उनीमाथि हातपात नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी दिएको खण्डमा भने उनीमाथि कुनै सजायँको जरुरत पर्दैन । विगतमा एमाले अध्यक्ष झलनाथमाथि आक्रमण हुँदा एमाओवाद अिध्यक्ष प्रचण्डले त्यसलाई जनताको आक्रोशको संज्ञा दिँदै जनताले जुत्ता पनि हान्न सक्ने सम्भावना औंल्याएका थिए । शुक्रबार उनीमाथि भएको घटनालाई जनताकै आक्रोश नभए पनि कार्यकर्ताको आक्रोशका रुपमा लिन सकिन्छ । तर, प्रचण्डमाथि यस्ता सुरक्षा चुनौतीहरु आफ्नै कार्यकर्ता बाटै बढिरहेको प्रमाणचाहिँ यसअघि भृकुटीमण्डपमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनीमाथि भएको कुर्सी प्रहार पनि हो । तर, के अब प्रचण्डले कार्यकर्ताहरुको आक्रोस र कुण्ठा मथ्थर पार्न मुद्दा मामिला र थुनछेकको विधि अपनाउलान् ? यस्तो अनुमान लगाउनु राजनेतामाथिको अपमान हुनेछ । एकीकृत माओवादीले प्रचण्डमाथिको झापडलाई देशी-विदेशी प्रतिक्रियावादीको खेल भनेको छ । यसको मतलव सिंगो पार्टी पदम कुँवरविरुद्ध लड्न तयार रहेको संकेत देखिन्छ ।
छानविनको अर्थ
सरकारले प्रचण्डमाथिको आक्रमणबारे छानविन प्रारम्भ गरेको छ । तर, जोकसैको उक्साहटमा कुँवरले घटना गराएको प्रमाणित भए पनि कुँवरमाथि वा उनका मतियारमाथि हुने सजायँ भनेको उही काठमाणडौं जिल्ला प्रशासन मार्फत् नै हो । कानुनभन्दा बाहिरबाट वा कानूनभन्दा बढी कसैलाई पनि सजायँ हुँदैन । त्यसैले यस्तो घटनामा छानविन समिति बनाउनु भनेको कार्यकर्ताको आक्रोशलाई सामान्यीकरण गर्नु र नेतामाथिको कार्यकर्ताको वितृष्णालाई विषयान्तरमात्रै गर्नु हो । फेरि पनि प्रचण्डका सामु उही विकल्प रहने छ, कुँवरविरुद्ध कानुनी कारवाही चलाउने वा उनलाई क्षमा दिने ?
प्रचण्डलाई मार्न खोजेको भन्दै कुटपीट
प्रचण्डलाई मार्ने षड्यन्त्र गरेको आरोपमा कार्यकर्ताको अपहरणमा परेर चर्काे यातना पाएका एक युवा यतिबेला एकीकृत माओवादीमै क्रियाशील छन् । माओवादीका पूर्वबटालियन कमाण्डर कृष्ण अधिकारी -रवि) मणि थापातिर लागेपछि केही वर्ष पहिले उनलाई अपहरण गरी कामीडाँडामा पुर्‍याएर चर्काे यातना दिइएको थियो । त्यही यातनाले शरीर दुख्ने रोग लागेका रवि यतिवेला एमाओवादीमै कार्यरत् छन् । आफूले प्रचण्डलाई मार्ने कल्पनासम्म नगरेको भन्दाभन्दै पनि अमानवीय यातना दिइएको अधिकारीले कब्जाबाट फुत्केपछि सार्वजनिक गरेका थिए । यो घटना प्रचण्डलाई जानकारी दिएर गराइएको थियो या कार्यकर्ताले आफ्नै लहडमा रविमाथि कुटपिट गरेका थिए, अहिलेसम्म प्रष्ट छैन ।
झापडको परिणाम : अझै पश्चगमन
प्रचण्डमाथि हातपात भएपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने बताएको छ । यसले सुरक्षाका नाममा नेताहरुलाई जनताबाट झनै कटाउने र टाढा बनाउँदै लैजाने छ । जनतासित डराएर सुरक्षा घेरामा बस्नुभन्दा जनतामा लोकपि्रय हुने विधि अपनाउनु नै नेतृत्व सुरक्षाको सबैभन्दा उत्तम विधि हो । नेतालाई सार्वजनिक स्थलमा थप्पड हान्नाले जनतालाई फाइदा र उपलब्धी भन्दा पनि थप घाटा हुँदोरहेछ भन्ने सरकारको यस्तो पश्चगामी निर्णयले प्रमाणित गरेको छ । थप्पड खाएका प्रचण्डले अब लाजिम्पाटको भन्दा बलियो दूर्ग बनाए भने त्यो अनौठो हुने छैन । नेताहरुले सुरक्षाका नाममा राज्यको स्रोत दुरुपयोग गर्ने आधार प्रदान गरेको छ यो घटनाले । विगतमा तत्कालीन प्रधान न्यायाधीश केदारनाथ गिरीमाथि एक युवकले छुरी हान्ने प्रयास गरेपछि न्यायाधीशलाई हतियारसहित सुरक्षा गार्ड प्रदान गरिएको थियो । तर, हतियार बोकेका गार्डले पनि न्यायाधीश रणबहादुर बमको रक्षा गर्न सकेनन् ।

Via Onlinekhabar 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास