जलवायु परिवर्तन र वाताबरणीय प्रभाव
चैत्रको महिनामा फुल्ने स्याउ र प्राय: फागुनको अन्तिम साता मात्र फुल्न थाल्ने लालीगुरास माघमै फुल्न थालेका छन् । बाहै्र महिना हिउंले ढाकेर सेताम्मे हुने हिमालहरुमा हिउं पग्लेर काला धब्बा मात्र देखिन थालेका छन् । यतिमात्र होइन कुनै समय लामखुट्टेको नाम मात्र सुनेका हिमाली जिल्लाका नागरिकहरु हिजोआज लामखुट्टेले टोकेर हैरान बनायो भन्न थालेका छन् ।
यी र यस्ता थुप्रै परिवर्तनहरु मानिसले प्रत्यक्ष अनुभूत गर्न थालेका छन् । जलवायु परिवर्तनका कारण तापक्रमको बृद्धि र वाताबरणीय बिनासले यसरी परिवर्तन आएको बारे सर्वसाधारण अनभिज्ञ छन् । विश्वमै जल्दोबल्दो समस्याका रुपमा देखिएको जलवायु परिवर्तनको प्रभाव सिङगो मानवसमुदाय र प्रकृतिका लागि साझा चुनौतीका रुपमा अगाडि आएको छ । प्राय: बोटविरुवा फुल्ने तथा पालुवालाई आधारमानी खेतीपाती लगाउने उनीहरुले खेतीपाती लगाउने समय समेत परिवर्तन गर्न थालेका छन् ।
बिश्वमा बढेको औधोगिकरण र अस्वस्थ वाताबरण मानवीय समस्याका रुपमा विकास भइरहेका छन् । तर पनि बाताबरणीय सरसफाईका क्षेत्रमा उल्लेख्य कार्य हुन सकेको छैन । यसबर्ष पनि सरकारी स्तरवाट नै राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ । तर यस्ता कार्यक्रमलाई निरन्तरता दिने बारेमा भने स्वयम आयोजकहरु नै लागेको देखिदैन ।
जलवायु परिवर्तनको असर खासगरी हिमालय क्षेत्रमा बढि परेपनि यसको प्रभाव बिश्वव्यापी बन्दै गइरहेको छ । हाल मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइ जस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषात्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरु वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुदै छ । जलवायु परिवर्तन कुनै आश्चर्यजनक घट्ना र भवितव्य नभई पृथ्वीको प्राकृतिक प्रक्रियाभित्रै पर्ने गतिबिधि हो । तथापि, विगत केही दशकयता देखिएको जलवायु परिवर्तनका तथ्याङकलाई भने त्यतिकै वेवास्ता गर्न सक्ने अवस्था छैन ।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा निकै नै बढि हो । तापक्रममा भइरहेको यसप्रकारको अस्वभाविक बृद्धिले नेपालको हिमाली क्षेत्रमा रहेका दर्जनभन्दा बढि तालहरु उच्च जोखिममा परेका छन् । यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रुपमा पाएका सुन्दर हिमताल र नदीनाला कालान्तरमा सङकटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङकटको सामना गर्नुपर्ने छ ।
त्यसो त शहरमा वाताबरणीय प्रदुशण बढि भएपनि त्यसको असर भने हिमाली क्षेत्रमा बढि पर्ने गर्दछ । त्यसो त सहरी क्षेत्रमा नै सरसफाईका कार्यहरु गर्न झनै गाह्रो हुने बताउछन् राष्ट्रिय सरसफाइ समन्वय समितिका सदस्य सचिव शाह ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम बृद्धिका कारण वातावरणमा क्रमश: असर देखा परिरहेको छ । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउामा यसका असर देखा परेको कुरा वैज्ञानिक रुपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङगित गरेको छ ।
जलवायु परिवर्तनका यति धेरै असरहरु देखिन थालेपनि यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा बहशको सुरुवात हुन सकेको छैन भने जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्नका लागि कुनै कार्यक्रमहरु पनि सञ्चालन भएका छैनन् । वाताबरण संरक्षणको प्रयास स्वरुप विश्व वाताबरण दिवस नै मनाउन थालिएपनि उपलब्धिमुलक हुन सकेको देखिदैन ।
विश्व समुदायलाई जलवायु परिबर्तनको असरबारे ध्यान आकृष्ट गराउन भन्दै माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ साल मंसीर १९ गते कालापत्थरमा मन्त्रीपरिषदको बैठक आयोजना गरी केही आशा देखाए जस्तो गरेपनि त्यसपछिका दिनमा जलबायु परिवर्तन असर न्यूनीकरण सम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन भएका छैनन् । यसतर्फ पनि समयमा नै ध्यान दिन जरुरी छ ।
Comments
Post a Comment