सानी
कथा
- केशरमणि कटुवाल
झमक्क साझ पर्दा नपर्दै सानी खाना खाएर आफ्नो कोठमा जान्छे । दिनभरीको घास दाउरा गर्दाको थकाईले कतिबेला ओच्छ्यानमा पल्टिउ जस्तो भएको छ । दुईवटा सिरानी खप्टिएर झ्यालबाट बाहिर नियाल्दै सुस्ताउन खोजिरहेकी सानीलाई मदनको यादले खुवै सताउछ । दिनभरीका सबै दु:ख बिर्सेर मदनलाई फोन गर्न खोज्छे । तर त्यतिबेला फोन लाग्दैन । जुनेली रातमा बाहिर नजिकै रहेका रुखका प्रतिबिम्ब संगै आकाशमा चम्किरहेका ताराहरु नियाल्छे र मनमनै सोच्छे ति ताराहरुको बिचमा जुन भएजस्तै आफ्नो जीवनमा मदन भएको भए कति रमाइलो हुन्थ्यो होला । सानी र मदनलाई गरिबीले संगै बस्न दिएन । मदन धन कमाउन बिदेशिएको छ । कहिले काही फोन गरेर सानीलाई म छिट्टै आउछु भनेर सानीलाई ढाडस दिन्छ, ‘म धन कमाएर तिमीलाई भेट्न छिट्टै आउछु सानी ।’ तर आफ्नो देश भए पो अर्काको देशमा बिदा पाउनै गाह्रो भएर आउन पाउदैन । यता सानीको मन भने असाध्यै भारी भएको छ । एकातिर बाबुआमाको सल्लाह बेगर माथिल्लो जातको मदनसंग गरेको प्रेम बिबाह, अर्कोतिर मदनको अनुपश्थितिले उसालाई धेरै सोला दिने गर्छ ।
सम्साझै खाना खाएर कोठमा गएकी सानी राती १२ बजेसम्म निधाउन सक्दिन । छेवैमा भएको सलाईको काटी कोर्छे र हातमा भएको घडि हेर्छे, भोलि बिहान घाास काटेर हर्के दाईको टारी खेतमा रोपाई गर्न जानु पर्ने । यस्तै सोच्दै सोच्दै कतिबेला निधाउछे थाहै हुन्न ।
यतिकैमा अली अली पूर्वबाट बिहानीको संकेतको उज्यालो चेहरा, लाली छराई मुस्कुराईरहेको क्षितिजपारीको पहाडको दृष्य, किराफट्याङग्राको आवाज संगै कताकता कुकुरको भुकाई र भालेको लामो र सुरिलो डकाईले ऊ झल्यास्स ब्युझिन्छे । असारको रातभरी परेको पानी पछि बिहान सिरिरी बहेको हावाले निधारमा आएको कपाललाई हल्का हल्का उडाउदा उसले मदन नै आएर केशराशी पन्छाइरहेको अनुभूति गर्छे । बेचैन भएर के गरौ, कसो गरौ हुन्छ । त्यही पवनलाई छातीमा टासेर थिचेको थिच्यै गर्न मन लाग्छ । सिरक गुटुमुटु पार्छे । तर बाहिर खल्याङ मल्याङ आवाज सुन्छे । बुहारी भएर पनि अहिलेसम्म पनि उठ्दिन, हाम्रा पालामा जस्तो भए खपि खानु हुने थिएन । सासु आमाको यो तिखो बचनले सानीलाई ओच्छ्यानमा बसिरहन दिदैन । उठेर सानी घर कसिङ्गर लगाउछे । नन्द देवरहरु उठेकै छैनन् । धारामा गएर पानी ल्याएपछि चिया बनाएर सबैलाई दिन्छे र घास काट्न बारीमा जान्छे । घास नकाटे फेरी बेलुका गोरु भोकै पर्छन । घास काटेर ल्याएर खाना खान्छे । सबै मेलातिर हिड्न थालिसकेकाले सानी पनि मेलातिर गई । अघिल्लो बर्ष त मदन घरमा नभएपनि हर्के दाईको छोरा माने, काजी थापाकी छोरी चम्पा, मकुन्दे जस्ता मिल्ने साथीहरु थिए । यसपाली त माने र मुकुन्दे पनि बेरोजगारीको कारण बिदेशिए, चम्पा पनि क्याम्पस पढ्न सहरतिर गएकी छे । मेलामा उही बुढाबुढी र आफूभन्दा साना भाईबहिनी मात्र छन्, दिन कटाउनै मुस्किल छ । के गर्नु देशमा बसौा भने रोजगारीको अबसर छैन त्यसमा पनि राजधानीबाट धेरै टाडाको थुम्के गाउामा बसाई छ । कतिबेला के हुन्छ थाहा हुदैन ।
यता बिस्तारै मदनको फोन आउन छोड्छ । घरमा दिन दिनै सासु र नन्दहरुले हेलाको दृष्टिकोणले हेर्न थाल्छन । काम गरेपनि जस नपाउने नगरे पनि नहुने घरको कचकचले सानी दिक्दार हुन्छे । माइत जाऊ भनेपनि तेरै खुसीले गएकी त होस् नी हामीले त्यहा दिएको होइन । हामीले हेरेर दिन पाएको भए आफ्नै जातको राम्रो केटा खोजेर दिन्थ्यौ नि भन्छन । जसलाई आफ्नो बनाउन बाबुआमाको काख छोडियो उसैले पनि नसम्झिदा सानीको मन भारी भएको छ । पाच बर्षअघि दुलही भएर आउदा सानी १८ बर्षकी थिई । बिहे गरेको बर्ष दिनपछि सानीलाई छोडेर हिडेको मदनको अत्तोपत्तो छैन । सानीको मायाको सागर एकाएक सुख्खा मरुभूमि जस्तो बन्यो । सानी तर्सिइ, सपना छताछुल्ल भयो । रिस, डर र आक्रोस र बेदनाका छालहरु एकैपटक ओइरिए सानीका आखाबाट । बास्तवमा एउटी महिलाको जीवन कथा यही नै हो त ? दु:खी भएर पनि बाच्नुपर्ने, आफ्नै मान्छेबाट अपमानित भएर हेला हिंसाको सिकार हुनेपर्ने, भित्र रोदनका पलहरु लिएर बाहिर अरुका लागि हासो देखाउनुपर्ने । सानी आफैलाई प्रश्न गर्छे । मदनले फोन नगरेको पनि ६ महिना बित्यो । घरमा सानीलाई कसैले वास्त गर्दैनन् ।
घास, दाउरा मेलापात गर्दै सानीका दिनहरु बितिरहेका छन् । दिन जान्छ, महिना जान्छ, महिना जान्छ बसन्त ऋतुसंगै नजिकैका रुखका पुराना पातहरु झर्छन । रुखले नया पालुवा फेर्छ, घर नजिकै रहेको कटहरको रुखमा लाम्पुछ्रारे चराले चराले गुड लगाउन थाल्छ । एक दिन सानी बिहानै उठेर झ्यालबाट बाहिर हेर्छे त्यो चराले त गुडमा साना बच्चाहरु बनाई सकेछ । लामपुछारेका जोडीले पालो गर्दै चुच्चामा चारो बोकेर बचेराहरुलाई खुवाई रहेका हुन्छन् । चराका बच्चाहरु पनि आफ्ना माउसंग खुबै चिरबिर गरेर चारो माग्थे । त्यो चराको घरजम कति रमाइलो छ । चुच्चोमा चारो बोकेर पनि त बाचेकै छन् नी । मदन पनि बिदेश नगएको भएपनि हुन्थ्यो । जसरी भएपनि बााचिन्थ्यो । काम गरेर खाने हात पाखुरा छदै थिए, बिदेशमा गएर पनि त्यसै आउने होइन । त्यहा झन हाम्रो को बसेको छ र आफन्तले त दिन्नन भने ......, यस्तै यस्तै सानीको मनमा कुरा खेल्न थाल्छन् । घरको कचकच बढिरहकै हुन्छ । सासुले तेरो लोग्ने पनि हराएको यतिका बेला भइसक्यो, अब त पनि आफ्नो कता हो बाटो खोजे हुन्छ भन्छिन । सिधैं नभनेपनि घुमाउरो पारामा घर छोड्न सासुले भनेको यो बचनले उसको मनमा गहिरो चोट पुग्छ ।
सानी अब जसरी पनि मदनलाई भेट्ने निष्कर्षमा पुग्छे । मदनलाई चिठी लेख्न बस्छे । आफ्नो वृत्तान्त उसलाई बताएरै छोड्ने दृढ निश्चय बोकेर लेख्न बसेकी सानी लेख्दालेख्दै थकित हुन्छे । आज ती हात पनि विना पातका हागाजस्तो उजाड भएका छन्, मानौं ती हातमा रातो रगत बग्नै छाडेको छ । मदन हराएको पनि महिनौ भइसक्यो । छिट्टै घास काटेर आएर चिठी पठाउन हुलाकमा जान्छु भन्दै सानी नाम्लो र हासिया बोकेर बारीतिर ठिक्क पर्छे । आज काजीको नातिको पास्नीको भोजमा सबैजना गएका छन् । घरमा सानी एक्लै छे । घाास काट्न जानै लाग्दा एक्कासी फोनको घण्टी बज्यो । अपरिचित नम्बर थियो त्यो । उसको मनले खै के सोच्यो कुन्नी † जानीजानी त्यो फोन उठाइन उसले । उसको भित्री हृदयले मानेको थिएन । संघर्षको दोधारमा मनसागै बाझाबाझ गर्दागर्दै फेरि अर्कोचोटी फोन बज्यो । फोनमा हेलो भन्न खोज्दा खोज्दै उसको शरिरमा चिटचिट पसिना आइसकेको थियो । त्यो फोन मदनको नै थियो । मदन बोल्नै नपाई सानीले किन फोन गरेको आज कसरी याद आयो । तिमी त्यसरी फोन गर्ने मान्छे नै होइनौ । गर्ने भए यतिका समयसम्म एकपटक त आफ्नी सानीलाई सम्झिने थियौ होला नी भन्दै भटटट मकै पड्केको जस्तो के–के भनी ।
मदनले सानीलाई आफू बिदेशमा लामो सयम बिरामी परेको र सानीलाई फोन गरेर भन्दा झन पीढा होला भनेर फोन नै नगरेको कुरा बतायो । सानीलाई मदनलाई मैले त्यसै गाली गरिछु जस्तो लाग्यो । सानीले घरमा भएको सबै कुरा मदनलाई सबिस्तार बताई । मदनले आफू चाडै नेपाल आउन लागेको र आफू आएपछि सबै कुरा ठिक हुने बताएपछि सानीको मन हल्का भयो । झण्डै आधाघण्टा फोनमा कुराकानी गरेपछि सानी घाास काट्न गई । सानी मदनसंगको सपना जस्तो भेटको कल्पनामा हराउदै घासको भारी लिएर घर आइपुग्दा सबैजना आइसकेका थिए । घरका कोही पनि नबोल्ने भएकाले उसले मदनको फोनको बारेमा सुनाउन जरुरी ठानिन । सानी मदनलाई पर्खिएर बसी । त्यसको एक महिना पछि मदनले सानीलाई आफू आउदै गरेको कुरा बतायो । सानी फुरुङग भई । मदन बिदेशमा बसेर मोटो हट्टाकट्टा भएको होला । सानी चाही रातदिनको घरको टोकसो र जंगल पातसंगको लुकामारीले पहिलाजस्तो थिइन । तर पनि ऊ मदनसंग भेट हुन लागेकोमा प्रेममा पुल्पुलिएकी किशोरी जस्तै भएकी छे ।
आज उसलाई घरको कामको कुनै हतार थिएन बिहानै सानी मदनलाई लिन ३ घण्टा धाएर बस स्टेसनमा पुगेर कुरेर बसी । मदन आउने कुरा थाहा पाएपछि घरबाट सासु र नन्द पनि बस स्टेसनमा पुुग्छन् । बस स्टेसनमा आमा र भाईसंग भेट हुन्छ । सबैजना बसेर कुराकानी गर्दागर्दै समय बितेको पत्तै भएन । एकैछिनमा गाडि आयो । बसका आधा यात्रु ओर्लिएपछि एउटा अग्लो अग्लो कदको सेतो टिसर्ट र जिन्सको पाइन्ट लगाएको मान्छे बसबाट निस्कियो । मदनलाई देख्ने बित्तिकै सानीले हर्षका आसु खसाली । समस्याका बिचमा पनि आफ्नो प्रेममा जित भएको र ढिलो भएपनि मदन आफैलाई सम्झेर घर फर्केकोमा सानी हर्षले गद्गद् भई ।

Comments
Post a Comment