कप्तानको काँधमै जिम्मा !
केशरमणि कटुवाल
इमरान खान, भन्नेवित्तिकै धेरैको मनमा अझै पनि सन् १९९२ को विश्वकप क्रिकेटको झल्को आइहाल्छ । खानको कप्तानीमा रहेको पाकिस्तानले पहिलो पटक विश्वकप क्रिकेटको उपाधी जितेको त्यसैबेला हो । विश्वकप क्रिकेटको फाइनलमा उनले इङल्यान्डविरुद्ध कप्तानी इनिङ खेल्दै ७२ रन बनाए भने मुस्ताक अहमेदले ३ विकेट लिएका थिए ।
पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट लामो समय खेलेका उनले झण्डै २ दशक क्रिकेटमा बिताए र आफ्नो सबैभन्दा महत्वपूर्ण उपलब्धीका रुपमा विश्वकपको उपाधी पाकिस्तानलाई दिलाए । त्यसयता पाकिस्तानले विश्वकप क्रिकेटको उपाधी जितेको छैन । इमरान खानको कप्तानीमा पाकिस्तानले विश्वकपको उपाधी उचाल्दा वासिम अक्रमपनि सोही टोलीका सदस्य थिए । जुन प्रतियोगितामा उनले १८ विकेट लिँदै प्रतियोगिताभर सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा आफूलाई उभ्याएका थिए ।
पाकिस्तानी क्रिकेट टोलीमा उनी निकै सफल खेलाडी हुन् । उनले पाकिस्तानको तर्फबाट ८८ वटा टेस्ट, १७५ वटा वान डे, ३८२ वटा फस्ट क्लास क्रिकेट र ४२५ वटा लिस्ट–ए क्रिकेट खेलेका छन् । जसमध्ये टेस्टमा ६ शतक र १८ अर्धशतक, वान डेमा १ शतक र १९ अर्ध शतक र फस्ट क्लास क्रिकेटमा ३० शतक र ९३ अर्धशतक र लिस्ट ए क्रिकेटमा ५ शतक र ६६ अर्धशतक पूरा गरेका छन् ।
क्रिकेटपछि राजनीतिक यात्रा
क्रिकेटको दुनियामा उनका यस्ता अरु धेरै रेकर्डहरु छन् । तर सन् १९९२ को विश्वकप उनका लागि अन्तिम विश्वकप बन्यो । पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधी दिलाएका उनी काँधमा चोट बोकेर क्रिकेट खेलाडीबाट सन्यास लिन बाध्य भए र राजनीतिको मार्गमा अघि बढे । पाकिस्तान इमरान खानसहित नजार मोहम्मद, युनुस खान, मोहम्मद युनुस, इन्जमाम–उल–हक, इमरान खान, वासिम अक्रम, शाहिद अफ्रिदी, उमर अकमलजस्ता थुप्रै विश्वस्तरीय क्रिकेटरको भूमि पनि हो ।
क्रिकेटबाट सन्यास लिएको चार वर्षपछि अर्थात सन् १९९६ मा पाकिस्तान तहरिक–ए– इन्साफ नामको राजनीतिक पार्टी स्थापना गरेर राजनीतिक यात्रामा अघि बढेका इमरान खान पाकिस्तानको राजनीतिको कप्तानी गर्ने ठाउँमा पुगेका छन् । पार्टी स्थापनाको करिब २२ वर्षपछि उनको पार्टी पाकिस्तानको राजनीतिमा सबैभन्दा ठूलो पार्टीको रुपमा जनअनुमोदित भएको छ ।
क्रिकेटमा दुई दशक लामो यात्रा तय गरेर काँधमा चोट बोक्दै बिदा भएर राजनीतिमा हामफालेका खानको काँधमा अब देशको नेतृत्वको जिम्मा आइपुगेको छ । क्रिकेटमा सफल खेलाडी र सफल कप्तानको भूमिका खेलेका उनलाई राजनीतिमा कप्तानीको भूमिकामा आउन पनि दुई दशकभन्दा लामो समय नै पार गर्नुप¥यो । आफ्नो जीवनको ४३ औं वसन्त पार गरेर राजनीतिमा होमिएका इमरान खान ६६ वर्ष लागे ।
उनको पार्टी यस्तो अवस्थामा देशको सबैभन्दा ठूलो पार्टीको रुपमा उदाएको छ कि स्थापनाकाल देखि नै राम्रो सम्बन्ध रहेको पाकिस्तानको अमेरिकासँग सम्बन्ध बिग्रिएको छ, सार्क शिखर सम्मेलन इस्लामावादमा दुई वर्षअघि नै हुनुपर्ने थियो, तर हुन सकेको छैन, कश्मिर समस्या चरमचुलीमा पुगेको अवस्था छ, देशभित्र र बाहिर आतंकवादविरुद्ध निर्णायक युद्ध गर्नुपर्ने अवस्था छ र सबैभन्दा ठूलो कुरा भनेको पाकिस्तानी युवाको मनमा स्थान बनाएका खानको समयमा त्यहाँको समाजले सामाजिक पुनर्निर्माण खोजेको छ, बलुचिस्तानले शान्ति चाहेको छ ।
पाकिस्तानलाई हालसम्म चार जना जननिर्वाचित र चार जना सैनिक शासकले हाँकिसकेका छन् । जनताबाट अनुमोदित भएर, लियाकत अलि खान, जुल्फिकर अलि भुट्टो, बेनजिर भुट्टो र नवाज शरिफले देश हाँके भने सैनिक शासकका रुपमा अय्युब खान, याह्या खान, जिया उल हक र परवेज मुसर्रफले शासन गरे । अब प्रधानमन्त्री भएमा इमरान खान जननिर्वाचित सरकारले हस्तान्तरण गरेको तेस्रो र समग्रमा पाँचौ जननिर्वाचित प्रधानमन्त्री बन्ने अवस्थामा आइपुगेका छन् ।
सुरुमा पत्याएनन् इमरानलाई
सुरुवाती चरणमा उनलाई कसैले साथ दिएनन् । सन् २००२ को निर्वाचनमा २ सय ७२ स्थानमध्ये उनको पार्टीले १ स्थानमात्रै जित्न सफल भयो र खान संसदमा आफ्नो पार्टीको एक्लो सांसद बने । त्यतिबेला इमरानको पार्टीले केबल ०.८ प्रतिशत भोटमात्रै पायो । उनले मियांवली निर्वाचन क्षेत्रको एनए–७१ बाट उनले चुनाव जितेका थिए ।
सन् १९९९ मा जनरल परवेज मुसर्रफले गरेको सत्ता ‘कु’ लाई उनले समर्थन गरे । तर, सन् २००२ को निर्वाचनमा तत्काली राष्ट्रपति तथा सैनिक शासक मुसर्रफलाई ‘अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने’ आरोप लगाएपछि खान चर्चा र विवादमा परे ।
राष्ट्रपति विरुद्ध कडा अभिव्यक्ति दिएका उनलाई नजरबन्दमा राखियो । सन् २००७ को ३ नोभेम्बरमा मुसर्रफले पाकिस्तानमा संकटकाल घोषणा गरेकोमा पनि इमरानले विरोध गरेपछि उनलाई ‘देशद्रोही’ को आरोप लगाइयो र घरमै नजरबन्दमा राखियो । तर उनी त्यहाँबाट भागे । सन् २००८ को निर्वाचनमा उनको पार्टीलाई जनताले पत्याएनन् । त्यसको पाँच वर्षपछि अर्थात सन् २०१३ को निर्वाचनमा भने उनको उपस्थिति बलियो देखियो । युवाहरुको विश्वास जित्दै गए भने राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानजस्ता नाराले उनलाई लोकप्रिय बनायो । यसैको निरन्तरता हो, यसपटकको निर्वाचनमा इमरान खानलाई जनताले विश्वास गरेका छन् र उनको ‘नयाँ पाकिस्तान’ को अभियानलाई साथ दिएका छन् ।
राजनेताको छवीमा इमरान
निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जितेपछि गरेको एक भाषणमा उनले आफूलाई ‘स्टेटमेन’ को भूमिकामा उभ्याउन खोजेका छन् । आफ्नो सम्बोधनको सबैभन्दा धेरै समय उनले पाकिस्तानमा के–के परिवर्तन ल्याउने, किन समस्यामाथि ध्यान केन्द्रित गर्ने र त्यसको समाधानका लागि के गर्ने, प्रशासनिक सुधार, खर्चमा कटौती, सुधार कार्यक्रम र अर्थव्यवस्थालाई बलियो बनाउने कुरामा जोड दिए । अनि पाकिस्तानको विदेश नीतिको सबैभन्दा ठूलो चुनौतीका विषयमा पनि कुरा गरे । चीनसँग पछिल्लो समयमा विकास भएको सम्बन्धप्रति खान सकारात्मक देखिए । उनले चीनका उपलब्धिले आफूलाई प्रेरित गर्ने बताए ।
भारतसँगको सम्बन्ध
इमरान खानले आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएपछि भारत र पाकिस्तानबीचको व्यापारिक सम्बन्धमा जोड दिए । यसअघिका राजनीतिज्ञले पनि भारतसँगको राम्रो सम्बन्ध चाहेको बताउने गरे पनि व्यवहारिक रुपमा त्यसो हुन सकेन । खानले कश्मिर मुद्दाको समाधान हुनुपर्नेमा जोड दिँदै भारत प्रशासित जम्मु कश्मिरमा भारतीय सेनाले विद्रोहीविरुद्ध जारी राखेको कारकाहीको कडा आलोचना गरेका छन् । उनले कश्मिरमा भारतीय सेनाले मानवअधिकारको उल्लंघन गरिरहेको बताए । भारत एक कदम अघि आए आफूहरु दुई कदम अघि आउने भन्दै उनले दुवै देश एसियाका लागि महत्वपूर्ण भएको बताए ।
दुई देशबीचको समस्या वार्ताका माध्यमबाट हल गर्नुपर्नेमा जोड दिए । दुवै देशमा रहेको गरिबी अन्त्यका लागि पनि व्यापारिक सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यकतामाथि उनको जोड थियो । उनले उठाएको अर्को सबैभन्दा महत्वपूर्ण मुद्दा भनेको कश्मिर समस्या हो । कश्मिरमा आम जनतामाथि भइरहेको ज्यादती र मानवअधिकारको उल्लंघन बेठीक रहेको बताए । उनले भने, ‘कश्मिरी जनता धेरै हैरानी भोगिरहेका छन्, हामीले कश्मिर मुद्दा हल गर्न कोशिस गर्नुपर्छ । किनकी तपाईहरुलाई कश्मिरमा जे–जे भइरहेको छ, त्यो कश्मिरका तर्फबाट भइरहेको छ भन्ने लागेको छ, हामी सम्झन्छौं कि बलुचिस्तानमा जे–जे भइरहेको छ, त्यो भारतका कारण नै भइरहेको छ ।’
नयाँ प्रधानमन्त्रीका चुनौती
पाकिस्तान दक्षिण एसियाका दुई परमाणु शक्ति राष्ट्रमध्ये एक हो । सन् १९४७ मा स्वतन्त्र भएदेखि भारतसँग पटक–पटक युद्ध गर्दै आएको पाकिस्तानमा पटक पटक जननिर्वाचित सरकारलाई हटाएर सैनिक शासन थोपरेको इतिहास छ । त्यतिमात्रै होइन, पाकिस्तानमा हरेक पटकका निर्वाचनसँगै सैनिक हस्तक्षेपको विषय जबरजस्ती रुपमा आउँछ । अबको सरकारले सेनालाई बलियो बनाउने तर प्रजातान्त्रिक मूल्य मान्यता र जनअभिमतलाई कुल्चन घेरा तय गर्दै प्रजातन्त्रलाई परिपक्व बनाउनुपर्नेछ ।
केही वर्षदेखि पाकिस्तान आतंकवादीको क्रिडास्थल बन्दै गएको छ । यो निर्वाचनको प्रचारदेखि मतदानसम्म पनि यस्ता थुप्रै आतंकवादी हमलाहरु भए । अफगानिस्तानसँग रहेको लामो, खुला र विकट सीमानाका कारण पनि पाकिस्तानमा आतंकवादी क्रियाकलाप सञ्चालन गर्न सहज बनेको देखिन्छ । सीमालाई व्यवस्थापन गर्दै पाकिस्तानी भूमिमा आतंकवादको अन्त्य चुनौतीको विषय बनेको छ । यसैगरी कश्मिर समस्याको समाधानका लागि पहल गर्नु, बलुचिस्तानका जनतालाई शान्ति दिनु, प्रशासनिक सुधार र अर्थव्यवस्थालाई बलियो बनाउनु नयाँ नेतृत्वका चुनौति हुन् ।
अर्को विषय भनेको भारतले पटक पटक पाकिस्तानले आतंकवादविरुद्ध कदम नचालेसम्म सम्बन्ध सुधार नहुने बताउँदै आएको छ । भारतले आतंकवादको रुपमा गरेको ब्याख्यामा समस्या छ । उसले कश्मिर र आसपासका क्षेत्रमा लामो समयदेखि न्यायका लागि लडिरहेका कश्मिरीलाई आतंकवादी भन्दै त्यसलाई पाकिस्तानले साथ दिएको आरोप लगाउने गरेको छ । त्यसकारण पनि पाकिस्तानले असली आतंकवादीविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने छ । यसले भारतको असली नियतको परीक्षा मात्रै हुनेछैन, निष्ठावान घोषणा हो वा होइन भन्ने प्रष्ट पनि पार्नेछ ।
पाकिस्तानी जनताको जीवनमा धर्मको एक महत्वपूर्ण स्थान छ । चुनावदेखि सरकारसम्म पनि यसबाट अछुत छैन । पाकिस्तानमा हालै केही धार्मिक–राजनीतिक समूहहरुको उदय भएको छ । त्यसको व्यवस्थापन गर्नुपर्नेछ । यो चुनावमा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको रोजगारी, विद्युत, सडकजस्ता आधारभूत मुद्दाहरुको समाधान गर्नुपर्नेछ । पाकिस्तानमा मतदातालाई सबैभन्दा प्रभावित पार्ने एजेन्डा विकासको एजेन्डा पनि भएकाले यसपटक जसले राम्रोसँग सम्बोधन गर्नसक्छ, उसले आगामी चुनावमा पनि राम्रो स्थान पाउन सक्छ । धेरैले इमरान खान देशको विकास र परिवर्तनका लागि सक्षम रहुन् र आर्थिक अवस्थामा परिवर्तन ल्याउन सक्छन् भन्ने विश्वासको मत पनि पाएका छन् ।
नयाँ सरकार बन्न समय लाग्ने
पाकिस्तानमा २५ जुलाईमा भएको निर्वाचनको परिणामअनुसार इमरान खानको पार्टी सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको छ । सत्तारुढ पाकिस्तान मुस्लिम लिग नवाज दोस्रो र पाकिस्तान पिपुल्स पार्टी तेस्रो स्थानमा छन् । यो आंकडा अनुसार अब इमरान खानको तहरिक ए इन्साफले सरकारको नेतृत्व गर्ने निश्चित जस्तै छ र सम्भवतः खान नै प्रधानमन्त्री बन्ने छन् । तर, उनले प्रधानमन्त्री बन्न अझै कम्तिमा दुई साता पर्खिनुपर्नेछ ।
अब निर्दलीय सांसदलाई कुनै न कुनै पार्टीमा सामेल हुन पाउनेछन् भने कुल सिटको अनुपातका आधारमा विशिष्ट सिटमा महिला र अल्पसंख्यक समुदायका उम्मेदवारको नामको अन्तिम टुंगो लगाउन बाँकी छ । केन्द्रीय सभामा ६० सिट आरक्षण रहेको छ । जसमा ३३, पञ्जाब, १४ सिन्ध, ९ खैबर पख्तुनख्वा र चार बलुचिस्तानका महिलाका लागि हो । त्यसपछि मात्रै राष्ट्रपति ममनुन हुसेनले केन्द्रीय सभाको बैठक बोलाउनेछन् । अघिल्लो सभाका अध्यक्ष आयाज सादिकको अध्यक्षतामा हुने यो बैठकमा नयाँ सदस्यले शपथ लिनेछन् ।
त्यसपछि सभामुखको चुनावपछि नयाँ सभामुख आएर प्रधानमन्त्रीको निर्वाचनको मिति तय गर्नेछन् । प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक भएर संसदमा गोप्य मतदानको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछन् । ३ सय ४२ सदस्यीय सभामा १ सय ७२ सदस्यको समर्थन पाउने व्यक्ति पाकिस्तानको आगामी प्रधानमन्त्री बन्नेछन् ।
अन्त्यमा, विश्वमा यस्ता थुप्रै उदाहरण छन्, जसले विभिन्न सामाजिक क्षेत्रबाट राजनीतिमा लागेर महत्वपूर्ण पद हासिल गरेका छन् । आगामी वर्ष सन् २०१९ मा पनि नाइजेरियामा कुनै समय विश्वका प्रतिभाशाली खेलाडी रहेका न्वान्को कानु राष्ट्रपतिको उम्मेदवार बन्दैछन् । इमरान खान खेल जीवनबाट राजनीतिमा आएपनि उनले यस क्षेत्रको अन्तरविरोधबारे लामो अनुभव हासिल गरेका छन् ।
भारतसँग चलिरहेको द्वन्द्व समाधानमा पनि उनको भूमिका महत्वपूर्ण नै हुनेछ । किनकी उनी खेलको पृष्ठभूमिबाट पनि भारतलाई राम्ररी चिनेका नेता हुन् । सामाजिक क्षेत्रबाट आएर पनि राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिने र पाकिस्तानलाई थप बलियो बनाउने जिम्मा अब नयाँ नेतृत्वले लिनुपर्नेछ । चुनावी परिणामलाई हेर्दा सम्भवतः त्यो व्यक्ति इमरान खान नै हुनेछन् । क्रिकेट कप्तानदेखि देशको कप्तानसम्मको उनको यात्रा कस्तो हुन्छ, त्यो हेर्न भने केही समय कुर्नुपर्नेछ । आशा गरौं, क्रिकेट मैदानबाट जस्तो काँधमा चोट बोकेर उनले राजनीतिको मैदानबाट बाहिरिनुपर्नेछैन ।

Comments
Post a Comment