जसले २२ बर्षमा बाबु को हो भन्ने प्रश्नको उत्तर पाए


२२ वर्ष पछि ‘बाबु को हो ?’ भन्ने प्रश्नको उत्तर पाए, उनले । सन्तुष्ट छन्, उनी । स्वतन्त्र जीवन छ । तर, बाल्यकालमा पाएको दुःख बिर्साउने गरी केही गर्ने जोश र अठोट छ । त्यसैले तय भयो, उनको सगरमाथा यात्रा ।



जेनजेन लामा, २०४७ साल असोज १४ गते संखुवासभाको तिब्बतसँगको सीमा क्षेत्र किमाथांका गाविस (हाल भोटखोला गाउँपालिका) मा जन्मिए ।

आफ्ना बाबुलाई २२ वर्षपछि चिनेका उनी आमासँगै गोठमा हुर्किए । विकट हिमाली क्षेत्र, चौरी गोठमा जन्मिए र निकै संघर्षपूर्ण जीवन बिताए, जेनजेनले ।

परिवारमा कसैले पढेनन् । तर जेनजेनलाई पढाउन आमा छेन्जोमले नै स्कुल हालिदिइन् ।

तत्कालीन हटिया गाविस (हाल भोटखोला गाउँपालिका) का उनका बाबु छेदर लामा शिक्षण पेशाका क्रममा किमाथांका पुगेकै बेला उनकी आमाका श्रीमानको निधन भयो ।

त्यसै क्रममा उनकी आमा र छेदरबीच शारीरिक सम्पर्क हुन पुग्यो र जेनजेन जन्मिएका हुन् ।

तर, गाउँ समाजको डरका कारण उनकी आमाले जेनजेन आफ्ना पतिकै छोरा भएको बताइन् । जेनजेन पनि विस्तारै आमासँगै हुर्किदै गए । तर उनको शारीरिक बनावट निधन भएका बाबुसँग नमिलेपछि गाउँ समाजले उनी निधन भएका बाबुका छोरा नभएर छेदर लामाकै छोरा भएको आशंका गरे ।

जेनजेनले विस्तारै यो कुरा थाहा पाएपछि आफ्नी आमालाई सत्य कुरा भन्न दबाब दिएपछि आमाले सत्य खोलिन्, उनी निधन भएका बाबुका छोरा नभएको प्रष्टियो । तर, २२ वर्षसम्म सम्पर्कमा नआएको मान्छे एकैपटक म तपाईको छोरा हुँ भन्दै जाँदा छेदरले स्वीकार गर्ने कुरै थिएन ।

उनलाई बाबु पत्ता लगाउनुपर्ने बाध्यता थियो । प्रशासनले पनि नागरिकता बनाउन बाबुको नाम खोज्थ्यो । कसलाई देखाउने बाबु !

आफू आमाको पेटमै हुँदा निधन भइसकेका व्यक्तिलाई बाबु माने, उनले । यथार्थमा उनी बाबु नै थिएनन् । अनि प्रशासनको सहारा लिन पुगे ।

कस्को सन्तान भनेर चिनिने भन्ने कानुनी लडाईकै बिचमा उनले हिमालय उच्च मा.वि खाँदबारीबाट १२ कक्षा पास गरे । नागरिकता पाउने पाउने टुंगो थिएन ।

जेनजेनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौमतले नागरिकता दिलाउन सहयोग गरे । प्रशासनबाटै दबाब आएपछि उनका बाबु छेदर छोरा स्वीकार गर्दै नागरिकता बनाइदिन सहमत भए ।

उनले जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट २०६६ मा नागरिकता पाए ।

अहिले बाबु छेदरसँग पनि राम्रो सम्बन्ध छ । तर, उनी बाबुआमा भन्दा अलग बसेर छुट्टै संघर्ष गरिरहेका छन् ।

सानो छँदा धेरै दुःख र हैरानी । स्कुल जाँदा साथीहरुसँग बाबुकै विषयलाई लिएर झगडा हुन्थ्यो । २२ वर्ष पछि ‘बाबु को हो ?’ भन्ने प्रश्नको उत्तर पाए, उनले ।

सन्तुष्ट छन्, उनी । स्वतन्त्र जीवन छ । तर, बाल्यकालमा पाएको दुःख बिर्साउने गरी केही गर्ने जोश र अठोट छ । त्यसैले तय भयो, उनको सगरमाथा यात्रा । संसारकै अग्लो ठाउँ, विश्वको छानो । उनको यो यात्रामा छिरिङ पाण्डे भोटेले प्रेरणा थपे ।

त्यसपछि काठमाडौं आए र हिमाल चढ्ने तालिम लिए । अन्तर्राष्ट्रिय पर्यटकको गाइड बन्ने लक्ष्य लिएका उनी भर्खरै सगरमाथामाथि विजय हासिल गरेर फर्किएका छन्, बाटो बनाउने फिक्सिङ टोलीका रुपमा ।

निकै कठिन यात्रा, सगरमाथामा बाटो बनाउने र डोरी टाङ्नु उनीहरुका लागि सहज थिएन । पासाङ तेन्जिङ शेर्पाको नेतृत्वमा जेनजेनसँगै दटुक भोटे, लाक्पा डेन्डी शेर्पा, पासदावा शेर्पा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा सगरमाथामा बाटो बनाउन दिनरात खटिए ।

उनीहरुले क्याम्प–२ भन्दा माथि वैशाख ४ देखि बाटो बनाउन सुरु गरे र बैशाख ३० गते दिउँसो साढे ३ बजेसम्ममा सगरमाथाको चुचुरोसम्म बाटो बनाउँदै डोरी टाँगेर सके । यही टोलीले बनाएको बाटो भएर यो सिजनमात्रै ३ सय ३६ जना विदेशी र २० जना नेपाली आरोही सगरमाथाको शिखरमा पुगे

यसवर्ष हिमपात बढी भएका कारण पनि गत वर्षको बाटोको नामनिशाना थिएन । बाटो बनाउँदै जाँदा निकै जोखिमपूर्ण यात्रा तय गर्नुपर्छ । हिउँ पहिरोमा पुरिनेदेखि अनेकौं त्रास हुन्छन्, त्यहाँ ।

बाटो निर्माणसँगै क्याम्प–२ देखि शिखरसम्म चार हजार सात सय मिटर डोरी बोकेर टाँग्दै जानुपर्छ । एउटै डोरी दुई सय मिटर लामो र १४ किलोको हुने भएकाले एकै व्यक्तिले बोक्न हम्मेहम्मे पर्ने जेनजेन बताउँछन् ।

क्याम्प–२ मा नै शिखरसम्म जान टेन्ट, खानेकुरा, माथि लैजान आवश्यक अक्सिजन र बाटो बनाउने सामग्री तयार गरेर जानुपर्छ । क्याम्प २ बाट नै क्याम्प ४ सम्मको बाटो निर्माण हुन्छ ।

त्यहाँबाट पुनः फर्किएर क्याम्प २ मा नै आएर बस्नुपर्ने हुन्छ । त्यहाँबाट मौसम अनुकुल पारेर साउथकोल हुँदै बालकुनीसम्म बाटो तयार गरेर साउथकोल फर्किनुपर्छ ।

त्यसपछि साउथकोलबाट रातिको १२÷१ बजे नै उठेर बालकुनी हुँदै शिखरसम्म अक्सिजनको सहायतामा गएर डोरी टाँग्ने काम सम्पन्न हुन्छ ।

बाटो बनाउने क्रममा क्याम्प–३ माथि एल्लो रकमा सबैभन्दा बढी समस्या भयो । थकान, अप्ठ्यारो काम, शिखर चुम्न आतुर भएका आरोहीहरूको दबाब र मौसमको गलत रिपोर्टले गर्दा बाटो बनाउने काम थोरै ढिला पनि भयो ।

‘मौसम राम्रो भएको रिपोर्ट आउँथ्यो, तर एकै छिनमा खराब भइजान्थ्यो,’ जेनजेन सम्झिन्छन्, ‘थकानले साउथकोलमा भुसुक्कै निदाएछौं, ब्यूँझिँदा हावाले टेन्ट भत्काएर हिउँले पुरिसकेको रहेछ । टाउको उठाउन खोज्दा सकेनौं, हतारहतार साथीहरुलाई उठाए र हिँउ पन्छाएर बाँचियो ।’

सयौं आरोहीलाई थाम्नेगरी टोरी टाँग्नु पर्छ । पहिले–पहिले सगरमाथा चढ्ने धेरै कठिन थियो । आजभोलि यसरी नै बाटो बनाउने बहादुर टोलीले सगरमाथाको यात्रालाई सहज बनाइदिन्छ ।

रक पिटन, डोरी, स्नो बार, आइस क्रुु, हिउँ बन्चरो, हेलमेट, हार्डनेस, ज्युमर, डिसेन्टरलगायत सामग्री शरीरमा झुन्ड्याएर पहरामा झुन्डिएर जान सक्ने बाटो बनाउनु पर्छ । कहिलेकाँही बोरामा हिउँ भरेर जग हाल्दै पनि बाटो बनाउनुपर्छ ।

एक स्थानबाट अर्को स्थानसम्म निश्चित दुरीमा भार थाम्नेगरी बाटो बनाउनुपर्ने उनले बताए । हिमाल चढेर बहादुर कहलिएकाले यो चुचुरोसम्म बाटो बनाएर सहज बनाइदिने शेर्पाहरुलाई सम्झदैनन् ।

यी बाटो निर्माण गर्ने बहादुरहरुले नै सगरमाथाको यात्रालाई सहज बनाइदिँदा सहज रुपमा शिखर पुगेर फर्किने अवस्था सिर्जना भएको छ ।

वर्षेपिच्छे सगरमाथा चढ्ने बहादुरहरुको नाम सञ्चारमाध्यममा आउँछ । तर, ती आरोहीभन्दा पहिले गएर बाटो बनाउँदै डोरी टाँग्ने ती बहादुर सिपाहीको नाम नआउँदा उनीहरुको मन अमिलो हुँदो रहेछ ।

उनीहरुले बाटो बनाएर डोरी टाँगेबापत प्रतिव्यक्ति ४ देखि ५ लाखसम्म पाउँने गर्छन् । ‘दुई सय मिटरको डोरी एक्लै बोक्नुपर्छ, रातिसम्म काम गर्नुपर्ने, सुतेकै ठाउँमा हिउँले पुरिने खतरा, कम जनशक्ति, मौसमको खराबी सबैको सामना गर्नुपर्छ । दुःखको तुलनामा यो निकै कम पैसा हो,’ जेनजेन भन्छन्, ‘जोखिम अनुसार सुविधा पनि बढी हुनुपर्छ ।’

यही क्षेत्रमा राम्रो कमाई गर्न सकिन्छ । राज्यले बर्सेनि करोडौं कर त्यही सगरमाथाबाट लिने गर्छ । त्यसमा पनि जेनजेनजस्तै परिश्रमी र साहसी युवाको हात हुन्छ ।

सगरमाथाको यही कठिन यात्राबाट पाएको ४ देखि ५ लाखसम्म रकम पर्यटन क्षेत्रमा लगानी गर्ने हो भने अन्यलाई पनि रोजगारी दिन सकिन्छ ।

जेनजेन आफैंले पनि पर्यटन क्षेत्रमा लागेर आएको पैसा लगानी गरेर काठमाडौंको कपनमा लोप्साङ रेमिट्यान्स खोलेका छन् । यसैलाई व्यवसायको रुपमा माथि लैजाने योजना उनको छ ।





Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास