टर्कीमा शक्तिशाली राष्ट्रपति : निर्वाचित सर्वसत्तावादको खतरा
| केशरमणि कटुवाल |
सन् २०१४ मा राष्ट्रपति बनेका एर्दोगानले त्यसअघि ११ वर्ष प्रधानमन्त्रीका रुपमा देशलाई नेतृत्व गरेका थिए । उनले २००१ मा मात्रै आफ्ना निकट सहयोगी अब्दुल्ला ग्युलसँग मिलेर एके पार्ट बनाएका थिए । इस्लामिक पार्टी एके सत्तामा आउनुअघि टर्की सेनाले राजनीतिमा कट्टरपन्थीलाई सत्तामा आउन नदिन चार पटक हस्तक्षेप गरेको थियो । सन् २०१३ मा एर्दोगानले सेनाका वरिष्ठ जनरललाई एके पार्टीलाई सत्ताबाट हटाउने षढ्यन्त्र गरेको आरोपमा जेल हालेका थिए भने सयौं अन्य अधिकारी, पत्रकार र धर्मनिरपेक्षताको पक्षमा रहेका नेतामाथि मुद्दा चलाएका थिए । त्यतिमात्रै होइन उनले विरोधीलाई दबाउन न्यायपालिकाको प्रयोग गर्दै आएको आरोप समेत लाग्दै आएको थियो । सन् २०१३ मा एउटा पार्क हटाएर व्यवसायिक भवन बनाएको विरोधमा ठूलो प्रदर्शन भएपनि त्यसलाई उनले शक्तिकै भरमा दबाए । सन् १९९४ मा इस्तानबुलको मेयर बनेका उनी सन् १९९९ मा इस्लामी भावना भड्काएको आरोपमा चार महिना जेल परेका थिए । जतिबेला उनले सार्वजनिक रुपमा नै मस्जिद आफ्नो ब्यारेक भएको अभिव्यक्ति दिएका थिए । सन् २०१६ मा भएको सैन्य ‘कु’ को असफल प्रयासका पछि पनि उनको कट्टर इस्लामिक छवीले काम गरेको बताइन्छ ।
एर्दोगान बने सर्वेसर्वा
नयाँ जितपछि एर्दोगानलाई नयाँ शक्ति पनि प्राप्त भएको छ । गत वर्ष सन् २०१७ मा उनकै नेतृत्वमा भएको जनमत संग्रहको परिणामअनुसार अब यसअघि प्रधानमन्त्रीले प्रयोग गर्दै आएको शक्ति पनि प्राप्त हुनेछ भने प्रधानमन्त्रीको पद अन्त्य हुनेछ । उनी अब यस्तो शक्तिशाली नेता बनेका छन्, जसले उपराष्ट्रपति, सरकारका वरिष्ठ अधिकारी, न्यायधीसजस्ता महत्वपूर्ण पदमा नियुक्ति उनले नै गर्नेछन् । त्यतिमात्रै होइन सत्तामा शक्ति सन्तुलन कायम गर्ने न्यायपालिकामाथि समेत हस्तक्षेप गर्ने अधिकार समेत दिइएको छ भने देशको बजेट निर्माणको अधिकार पनि उनलाई नै हुनेछ । सन् २०१६ मा सेनाको असफल सैन्य ‘कु’ पछि लाग्दै आएको संकटकाल बढाउने वा अन्त्य गर्ने भन्ने निर्णय पनि अब उनको विवेकमा भर पर्नेछ ।
अर्को रोचक कुरा त के छ भने यति धेरै शक्तिका बाबजुद उनका निर्णय रोक्ने वा समीक्षा गर्ने कुनै पनि व्यक्ति वा संस्था हुनेछैन । नयाँ संविधानअनुसार एर्दोगान आगामी पाँच वर्ष अर्थात सन् २०२३ सम्म राष्ट्रपति हुनेछन् भने सो वर्ष हुने चुनाव जितेमा २०२८ सम्म सत्तामा बस्ने बाटो खुल्ला हुनेछ ।
अर्को रोचक कुरा टर्कीका यति शक्तिशाली नेता एर्दोगान जर्जियाका एक प्रवासीका छोरा हुन् । यहाँसम्म आइपुग्दा एर्दोगानले लामो यात्रा तय गरिसकेका छन् । कासिमपासामा जन्मिएका उनी काला सागर नजिकै हुर्किए, अनि इस्लामिक आन्दोलनले टर्कीमा चर्चा पाए । टर्कीको सत्ताको शिखरमा पुग्नुअघि उनी जेल पनि परे, ११ वर्ष प्रधानमन्त्री बने र सत्तापलटको सामना पनि गरे । पछिल्ला १५ वर्षमा १४ चुनाब (६ पटक विधायिकी, ३ जनमत संग्रह, ३ स्थानीय र २ राष्ट्रपति) को सामना गरे र सबै चुनावमा जित हासिल नै गरे । उनका समर्थक सबैजसो रुढीवादी मुस्लिम समुदायका हुन् । टर्कीमा आर्थिक सुधार र अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक उपस्थिति दिलाउन उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।
एर्दोगानका उपलब्धी
एर्दोगानले आफू सत्तामा आएपछि सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रमा सुधार र मृत्युदण्डको सजाय अन्त्य गरे । मृत्यु दण्ड अन्त्य गर्ने निर्णयबाट दुईवटा फाइदा टर्कीलाई भयो । पहिलो टर्कीले युरोपेली संघमा प्रवेशका लागि तयारी थाल्न पायो र युरोपेली संघले पनि त्यसलाई स्वागत ग¥यो । दोस्रो कुरा देशभित्र नै कुर्द विद्रोहीसँग शान्ति स्थापना गर्नमा पनि सहयोग मिल्यो ।
आलोचक के भन्छन् ?
एर्दोगानका आलोचक टर्कीको आर्थिक संकट र उनको तानाशाही व्यवस्थाको चर्को आलोचना गर्छन् । उनको कार्यकालको अवधिमा महंगी १० प्रतिशतसम्म बढ्यो भने लीरा (टर्कीको मुद्रा) को घट्दो मूल्यले गरिब जनतालाई बाँच्न सकसको अवस्था सिर्जना गरिदियो । त्यतिमात्रै होइन उनी सत्तामा हुँदा उनका आलोचक या त जेलमा छन्, या निर्वासित जीवन बिताउँन बाध्य भएका छन् । सन् २०१६ को सत्तापलटको असफल प्रयासपछि संकटकालीन अवस्था अझै जारी छ । त्यसबेलादेखि अहिलेसम्म १ लाख ७ हजार सरकारी कर्मचारी र सैनिकहरुको रोजगारी खोसिएको छ भने ५० हजारभन्दा बढी जेलमा रहेका छन् ।
एर्दोगानका चुनौती
एर्दोगान अबको टर्कीको राजनीतिको केन्द्रमा छन् र उनकै हरेक निर्णयका वरिपरी देश घुम्नेछ । अहिलेसम्म १५ वर्षमा १४ पटक भएका निर्वाचन जितेपनि उनका विरोधीहरु बढिरहेका छन् । हालै भएको निर्वाचन अभियानका क्रममा देखिएका दृश्यले सायद उनलाई यो कुराको ज्ञान भएको हुनुपर्छ । अर्कोतर्फ एर्दोगानको एके पार्टी बाहेकका दलहरु यसको विपक्षमा छन् । यसको असर युरोपेली संघमा प्रवेश गर्ने एर्दोगानको चाहानामा पर्न सक्छ । युरोपेली संसदकी सदस्य केटी पिरीले ट्विटरमा भनेकी छन्, ‘एर्दोगानको तरिका युरोपेली संघमा सामेल हुने कुरासँग बिल्कुल मेल खाँदैन ।’ दुई वर्षदेखि देशमा लगाएको संकटकाल हटाउँछन् या कायम राख्छन् भन्ने कुरामा पनि सबैको नजर टिकेको छ । सैनिक ‘कु’ लाई देखाउँदै टर्कीमा संकटकाल लगाइएको भएपनि टर्कीको राजनीतिक अनिश्चितता यो संकटकाल कायम हुनुको प्रमुख कारण हो । त्यतिमात्रै नभएर टर्कीमा केही वर्षदेखि विदेशी लगानी ह्वात्तै घटेको छ । संकटकाल हट्नुको अर्थ त्यहाँका बन्दी रहेका विपक्षी कैदीहरु रिहा हुनु र मेलमिलापपूर्ण राजनीतिको सुरुवात हुनु होइन । तर, त्यसपछि विपक्षीहरुसँग छलफलको सुरुवात हुनु आवश्यक छ । टर्कीका आधी जनता आफू अजेय शक्ति भएको महसुस गरिरहेका छन् भने आधा जनता एर्दोगानको सत्तासंग रुष्ट छन् ।
विरोधी राष्ट्र खुसी
इरान, इजरायल र टर्की क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्र हुन् । यी देशबीच केही वर्षदेखि सम्बन्ध बिग्रिएको छ । इरान र इजरायलबीच दुश्मनीपूर्ण सम्बन्ध छ भने टर्कीसँगको सम्बन्ध पनि राम्रो छैन । तर, अचम्मको कुरा एर्दोगान राष्ट्रपति बन्दा दुवै देश खुसी देखिएका छन् । हालै मात्र इजरायललाई एर्दोगानले ‘जमीन हत्याउने आतंकवादी देश’ को आरोप लगाएका थिए । टर्की प्यालेस्टाइनको पक्षमा उभिदै आएकाले पनि प्यालेस्टाइनमाथि इजरायलले गर्ने अमानवीय व्यवहारको कडा आलोचना गर्दै आएको छ । पछिल्लो समयमा प्यालेस्टाइनी प्रदर्शनकारीमाथि इजरायलले गोली चलाएपछि टर्कीले इजरायलका राजदूतलाई फिर्ता पठाइदिएको थियो । तर इजरायल टर्कीका लागि र टर्की इजरायलका लागि महत्वपूर्ण रहेकाले उनीहरुबीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । राजनीतिक सम्बन्धमा खटपटी पैदा भएपनि हालैका दिनमा व्यापारिक सम्बन्ध बढेको देखिन्छ । टर्कीमा इजरायलका उत्पादन खरिद भइरहेका छन् र व्यापार सम्झौता कायम छ । यतिबेला टर्कीको राजनीतिमा यो कठोर कदम उठाउनेबारे विचार भइसकेको छ र एर्दोगानका मुख्य प्रतिद्वन्द्वी सीएचपी पार्टीका उम्मेदवार मुहर्रिम इन्चेले यसको वकालत समेत गरिसकेका छन् । कुर्द समर्थक एचडीपी पार्टीले इजरायलसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्न आव्हान गरेको थियो भने सीएसपीले यसको समर्थन गरेको थियो । त्यसले एर्दोगानको एके पार्टीले इजरायलविरोधी रबैया कम गर्दै गएको छ । इजरायल र टर्कीबीच कूटनीतिक तनाव पैदा भएको केही दिनपछि एकेपीले संसदमा इजरायलसँगको सबै व्यापारिक सम्झौता रद्द गर्ने र आर्थिक सम्बन्ध अन्त्य गर्ने प्रस्ताव खारेज गरेको थियो । एर्दोगान र उनको एकेपीले भलै इजरायलविरुद्ध वक्तव्यबाजी ग¥यो, तर इजरायल टर्कीसँगको व्यापारिक सम्बन्ध बिगार्न चाँहदैन । प्यालेस्टाइनी नेता महमुद अब्बाले पनि चुनाव जितेकोमा एर्दोगानलाई बधाई दिँदै दिगो शान्ति, स्थिरता र प्रगतिका लागि शुभकामना दिएका छन् ।
चुनाव जितेपछि इरानका राष्ट्रपति एर्दोगानलाई सबैभन्दा पहिले बधाई दिँने नेता थिए । आधिकारिक सन्देशमा राष्ट्रपति हसन रुहानीले दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकोमा एर्दोगानलाई बधाई दिएका छन् । रुहानीले एर्दोगानको तारिफ गर्नुको कारण भनेको आफ्नो देशजस्तै इजरायलविरोधी र प्यालेस्टाइन समर्थक भएर पनि हो । सिरिया युद्धलाई लिएर पनि इरान र टर्कीबीच तनाव थियो, तर यो युद्ध जारी रहँदा इरान, रुस र टर्की एकठाउँमा देखिन्छन् । जसमा सैनिक ‘कु’ मा सामेल भएको आरोप लगाइएका फतगुल्लाह गुलेनलाई अमेरिकाले शरण दिइराख्नुले टर्की र अमेरिकाबीच सम्बन्ध बिग्रनु पनि हो । अर्को महत्वपूर्ण कुरा भनेको एर्दोगानको नीति इरानको पक्षमा हुनुको कारण यस क्षेत्रमा साउदीको प्रभावको विरोधी हुनु पनि हो । इरान पनि साउदीको कट्टर विरोधी देश हो ।
अन्त्यमा, टर्कीमा जब जब इस्लामिक नेताहरु सत्तामा आइपुग्छन्, तब तब सैनिक ‘कु’ भएको इतिहास छ । युरोप र एसियामा विभाजित टर्की सामरिक रुपमा महत्वपूर्ण देश पनि हो । कुनै समय अटोमन साम्राज्यको केन्द्र रहेको टर्कीमा १९२० को दशकमा राष्ट्रवादी नेता मुस्तफा कमाल अतातुर्कको नेतृत्वमा धर्मनिरपेक्ष गणतन्त्र स्थापना भयो । अतातुर्क आफैं सैनिक पृष्ठभूमिका व्यक्ति भएको र टर्कीको संस्थापक पनि भएकाले उनलाई त्यहाँ अत्यन्तै सम्मानपूर्वक लिने गरिन्छ । सन् १९२३ मा राष्ट्रपति बनेका धर्मनिरपेक्षतावादी नेता अतातुर्कको १९३८ निधन भयो । त्यसपछि पनि सेनाले भने देशको धर्मनिरेपेक्षताको रक्षा गर्ने आफूहरुको कर्तव्य ठान्दै इस्लामिक कट्टर नेताहरु सत्तामा आएपछि हस्तक्षेप गर्दै आएको पाइन्छ । इस्लामिक आन्दोलनको पृष्ठभूमिबाट आएका एर्दोगान राष्ट्रपति भएको दुई वर्षपछि सेनाको एक समूह फेरि सैनिक ‘कु’ को प्रयास ग¥यो र असफल भयो । यही असफल सैनिक विद्रोहको परिणाम हो, अहिले टर्कीमा उदाउँदै गरेको शक्तिशाली राष्ट्रपतीय प्रणाली । टर्कीभन्दा अघि अमेरिका र फ्रान्ससहित शक्तिशाली राष्ट्रपतीय प्रणाली अपनाएका धेरै राष्ट्र छन् । तर, ति राष्ट्रमा सत्ताको शक्ति सन्तुलन र सर्वसत्तावादतर्फ उन्मुख हुन नदिन व्यवस्थापिका र न्यायपालिकालाई शक्ति दिइएको पाइन्छ । अहिले टर्कीमा राष्ट्रपतिलाई असीमित शक्ति प्रदान गर्नुका बाबजुद त्यसलाई नियन्त्रण गर्ने विकल्प नराखिएकोले सर्वसत्तावादको अभ्यास हुने खतरा बढेको छ ।
टर्कीमा सन् २०१६ को घटनापछि पनि सैनिक, शैक्षिक संस्था, न्यायलय र न्यायधीसमाथि ठूलो प्रहार भएको थियो । शक्तिको बलमा चलाइएको बर्बरताले दीर्घजीवन पाउँन कठिन हुन्छ । एक वर्षअघिको जनमत संग्रहको परिणामपछिको संविनधानमार्फत उनले जसरी शक्ति प्राप्त गरेको छन्, वास्तममो त्यो कुनै एकतन्त्रीय शासनको भन्दा कम छैन । एर्दोगानले शिक्षा, न्यायक्षेत्र, सुरक्षाक्षेत्रलाई आफ्नो कब्जामा राखिराख्न र आफू अनुकुल त्यसलाई चलाउन गरेको कोशिसबाट आगामी दिनमा उनका कदम झनै तानाशाही हुने र जनताका आवाजलाई कुल्चने खतरा उत्तिकै छ ।


Comments
Post a Comment