मोदीका दुई वर्ष : जमघटदेखि जेएनयू विवादसम्म

केशरमणि कटुवाल

नरेन्द्र मोदी, पछिल्लो समय हरेक नेपालीहरूको मस्तिष्कमा गहिरोसँग बसेको नाम हो । नेपालसँग मित्रताको हात फैलाएर नाकाबन्दीसम्म आइपुग्दा अधिकांश नेपालीहरूले उनलाई आलोचनात्मक दृष्टिले हेर्ने गर्छन् । त्यति मात्रै नभएर कुनै समय विश्वकै चर्चित नेता बनेका मोदी अहिले भारत र विश्व समुदायमा समेत आलोचित बन्न पुगेका छन् । खासगरी भारतमा नै उनको विदेश नीति असफल भएको, छिमेकी देशहरूसँग सम्बन्ध सुधार गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको छ । मोदी स्वतन्त्र भारतको १५औं र प्रधानमन्त्रीको पद सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति पनि हुन् ।

बोली र व्यवहार फरकफरक

सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । ५ सय ४५ सदस्यीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत हासिल गरेको थियो । उनले दुई वर्षअघि अर्थात् सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु शपथ ग्रहण लिएका हुन् । मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियामा भारतको कडा प्रतिद्वन्द्वी पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला, मौरिससका प्रधानमन्त्री नवीन रामगुलामलगायत थुप्रै पाहुनालाई बोलाइएको थियो ।
मोदी कार्यकालको सुरुवातमा यसरी जमघट गरिएपछि दक्षिण एसियाली राजनीतिमा मोदीले नयाँ र विशेष पहलकदमी लिने अपेक्षा गरिएको थियो । तर, उनको कार्यकालका दिनहरू बित्दै जाँदा उनको विदेश नीतिमा सीमाहरू देखिन थाले र ठीक दुई वर्षपछि अहिले भारतको सम्बन्ध, चीन र पाकिस्तानसँग मात्रै होइन, राम्रो सम्बन्ध भएको नेपालसँग समेत नराम्ररी बिग्रन पुगेको छ । अहिले नेपाली जनता मात्रै नभएर सरकारसमेत भारतीय नीतिको कडा आलोचक बन्न पुगेको छ ।

निराशाजनक कूटनीति

कांग्रेसको सरकारलाई विस्थापित गरेर भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको कूटनीति अन्तर्राष्ट्रिय समुदायको चासो र अपेक्षाविपरीत निराशाजनक देखिन्छ । भारतीय राज्य गुजरातको १४औं मुख्यमन्त्री बनेका मोदीलाई उनको कामका आधारमा गुजरातका जनताले लगातार चारपटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्रीको रूपमा चयन गरेका थिए ।
गुजरात विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर प्राप्त नरेन्द्र मोदीलाई विकास पुरुषको नामले समेत चिनिन्छ । अटल बिहारी बाजपेयीजस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् । उनले गुजराती भाषाबाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् । मोदी सरकारको विदेश नीतिलाई भ्रमपूर्ण भएको भन्दै भारत र छिमेकी देशहरूमा समेत आलोचना हुने गरेको छ । शपथ ग्रहणकै समयमा उनले पाकिस्तानसँगको सम्बन्ध सुधारको वचन सार्वजनिक रूपमै दोहो¥याएका थिए, तर त्यसको ठीक उल्टो नेपालसहित अन्य देशहरूसँग समेत सम्बन्ध जटिलतातिर धकेलिएको छ । मोदीले आतंकवादविरुद्धको लडाइँमा साथ दिने बताएका थिए तर अहिले पनि आतंकवादविरोधी लडाइँमा भारतको प्रभावकारी उपस्थिति देखिएको छैन । यसको मतलब यो होइन कि आतंकवादी गतिविधि निर्मूल पार्न सक्नुपर्छ । संसारका कुनै पनि सरकारले आतंकवादलाई अन्त्य गर्न र रोक्न सकेका छैनन् तर प्रश्न यो हो कि समस्याको जडविरुद्ध उसले कुन कदम चाल्यो ?

मोदीलाई लिएर फरकफरक विचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हेर्ने दृष्टिकोणमा अहिले परिवर्तन आउन थालेको कुरालाई भारतीय जनताले नै स्वीकार गर्न थालिसकेका छन् । उनको असफल बन्दै गएको कूटनीति तथा विकास पुरुषको नाम अहिले त्यति धेरै मेल खान छाडेको टिप्पणीसमेत हुने गरेको छ । उनलाई गुजरातमा जनताले जुन दृष्टिकोणले हेर्छन्, त्यो दृष्टिकोण भारतका अन्य क्षेत्रमा त्यही स्तरमा पाइँदैन ।
पाकिस्तानका पूर्वविदेशमन्त्री खुर्सिद मोहम्मद कसुरी भन्छन्, ‘मोदीलाई लिएर अलगअलग सोच विकास हुन थालेको छ । उनको कामलाई गुजरातका जनताले न्याय गरेका छन् ।’ कसुरीको भनाइलाई आधार मान्ने हो भने पनि मोदीप्रतिको दृष्टिकोण समग्र भारतमा एउटै स्तरको छैन भने परपरागत प्रतिद्वन्द्वी पाकिस्तानमा समान हुने कुरै भएन । उनले भने, ‘मोदी आएपछि केही सकारात्मक कुराहरू भएका छन् । पठानकोटमा भएको घटनापछि दुवै देशले सरकारी स्तरमा आरोप प्रत्यारोप गरेनन् । त्यसलाई भारत र पाकिस्तानबीचको सम्बन्ध बिस्तारै बिस्तारै सामान्य बनाउने प्रयासको एउटा कदम मान्न सकिन्छ ।’
भारतका एक वरिष्ठ कूटनीतिज्ञ राजीव डोगरा भन्छन्, ‘पाकिस्तानलाई लिएर मोदी सरकारलाई नम्बर दिनुपरेमा म ९० या १०० प्रतिशत दिन सक्छु, तर जहाँसम्म नतिजाको कुरा छ त्यो निराशाजनक छ ।’ उनले पाकिस्तानमा अझै पनि आतंक कम नभएको टिप्पणी पनि सँगै गरेका छन् । भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारका लागि प्रयास गर्ने भनिए पनि दुई देशका आम मानिसबीचको सम्पर्कमा बढोत्तरी नभएको उनको भनाइ छ ।
भारतका पूर्वविदेश सचिव सलमान हैदरले भारतको चीन र पाकिस्तानसँगको सम्बन्धमा खास असर परेको छैन । विदेश नीतिमा मोदीले जुन जोस देखाएका छन्, उनलाई भारतीय जनताले त्यसरी नै चिन्दछन् । उनको भनाइ छ, ‘भारत र अमेरिकाबीचको राम्रो सम्बन्ध चीनविरुद्ध होइन ।’ भारतको विदेश नीति पहिले पनि स्वतन्त्र भएको र अहिले पनि स्वतन्त्र नै रहेको उनको भनाइ छ ।

फिल्मी क्षेत्रसँग सम्बन्ध बढाउने प्रयास

मोदी हरेक क्षेत्रसँग सम्बन्ध अघि बढाउन निकै सिपालु नेता मानिन्छन् । उनले ‘स्वच्छता भारत अभियान’को घोषणा गर्दै प्रमुख अभिनेताहरूलाई जोडेनन् मात्रै आफै सडकमा झाडु लिएर उत्रिए । उनीसँगै अभियानमा प्रियंका चोपडा, सलमान आन, कमल हासन, अमिर खानजस्ता कलाकारहरूले उनलाई साथ दिए । कतिपय कलाकारहरूले त उनको अभियानको त्यसबेला खुलेरै तारिफ गरेका थिए ।
अभिनेत्री फ्रिडा पिन्टोले लेखेको पोस्टमा भनिएको थियो, ‘आगामी पाँचवर्षपछि हामी भारतमा स्वच्छ हावामा सास फेर्न पाउनेछौं, यसमा हरेक भारतीय नागरिकको जिम्मेवारी रहनेछ । यसमा ठूला साना सबै क्षेत्रबाट योगदान आवश्यक छ । म यस्तो घोषणाको वर्षौदेखि पर्खाइमा थिएँ ।’
यो एउटा प्रतिनिधि घटना हो । तर, मोदीको अभियानलाई त्यसबेला थुप्रै भारतीय कलाकार र नागरिकहरूले प्रशंसा मात्रै गरेनन् अभियानमै सहभागिता जनाएका थिए । तर, अहिले त्यो अभियान खासै चर्चामा छैन । यो उनको कार्य आफ्नोभन्दा पनि जवाहरलाल नेहरूको अनुकरण थियो । राजनीतिक रुझान राख्ने नेहरूले स्वतन्त्रतापछि सन् १९४७ देखि १९६४ का बीचमा थुप्रै भारतीय कलाकाहरूलाई आफ्नो नजिक बनाएका थिए । त्यसबेला नेहरूलाई सोहराब मोदी, पृथ्वीराज कपुर र राजकपुर, महबुब खान, दिलीप कुमार तथा नरगिस दत्तलगायतका कलाकारहरूले साथ दिएका थिए ।

मोदी कालमा नेपालमाथि नाकाबन्दी

नेपालका पूर्वमन्त्री तथा भारतका लागि पूर्वराजदूत भेषबहादुर थापा भन्छन्, ‘मोदी सरकारको सुरुवात सकारात्मक रूपमा भएको थियो । छिमेकी देशलाई प्राथमिकता दिने नीतिको प्रशंसासमेत भएको थियो । उनी नेपाल भ्रमणमा आएका बेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए ।’ उनी भन्छन्, ‘तर, संविधान घोषणापछि जे भयो, केही अल्पसंख्यक जनताले यस विषयमा असन्तोष जनाए । त्यसबेला एकले अर्कालाई सहयोग गर्नुको साटो भारतले जुन कदम चाल्यो त्यसले नेपाली जनतालाई निराश बनायो ।’ थापाले नेपाल–भारतको सम्बन्धमा नयाँपन ल्याउन र नेपाली जनतामा भारत सरकार र मोदीप्रति सकारात्मक भावनाको सञ्चार गराउन केही गर्न जरुरी रहेको बताएका छन् ।
नेपालमा नयाँ संविधान जारी भएसँगै भारतले गरेको नाकाबन्दीका कारण ऊर्जालगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा भएको अवरोधले नेपाली जनताले ठूलो सास्ती बेहोर्नुपरेको थियो । नेपालमा यस्तो समयमा भारतीय नाकाबन्दी भयो, जुन बेला नेपाली जनता भूकम्पबाट भएको ठूलो धनजनको क्षतिलाई बिर्सने प्रयास गर्दै थिए ।

दुई वर्षमा मोदीको हिसाबकिताब

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री पदमा पुगेको दुई वर्ष पुगेको अवसरमा डाक्टरको अवकाशको समय बढाएर ६५ वर्ष पु¥याउने उद्घोष गरे । उनी त्यतिमा मात्रै रोकिएनन् उनले यसको औपचारिक निर्णय आगामी क्याबिनेटको बैठकबाट गराउनेसमेत बताए ।
डाक्टरसँगको उनको अपिल थियो कि हरेक महिनाको ९ तारिखमा गरिब गर्भवती महिलाको निःशुल्क उपचार गर । उनले डाक्टरहरूले यसो गर्न सके १ करोड मानिसले सुविधा पाउन सक्छन् । उनले आफूले गरिबको जीवनमा सुधार ल्याउने योजनामा हात हालेको बताए ।
उनी भन्छन्, ‘यसले देश बदलिरहेको छ, तर केही मानिसको दिमाग बदल्न सकिरहेको छैन ।’ मोदीले आफ्नो कार्यकालमा भ्रष्टाचार निर्मूल पार्ने, छोरी बचाऔं, छोरी पढाऔं अभियान, हरेक गाउँमा सडकमार्ग पु¥याउनेलगायतका योजना अगाडि सारेका थिए ।
मोदीले दुई वर्ष पुगेको अवसरमा उत्तर प्रदेशमा एक ¥यालीलाई सम्बोधन गर्दै भने, ‘मेला लागि सवा सय करोड जनता परिवारका सदस्य हुन्, म जे गर्छु सबैका लागि गर्छु, मैले १ हजार दिनमा १८ हजार गाउँसम्म बिजुली पु¥याउने लक्ष्य लिएको थिए, तर दुई वर्षमै ७ हजार गाउँमा पु¥याएको छु ।’ मोदीले सत्ता सम्हालेको दुई वर्ष पार गर्दा जनताले उनको हिसाबकिताब माग्न सुरु गरिसकेका छन् ।

प्रमाणपत्रको विवाद र जेएनयू काण्ड

नरेन्द्र मोदी सत्तामा आइसकेपछि पटकपटक चर्चा र विवादमा पनि आए । खासगरी उनको शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर भएको विवादले चर्को रूप लिएपछि सार्वजनिक रूपमा नै शैक्षिक प्रमाणपत्र देखाउनुपरेको थियो । मोदीको शैक्षिक प्रमाणपत्रको विवाद भने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र उनको पार्टी आम आदमीले झिकेको हो । शैक्षिक प्रमाणपत्र सार्वजनिक गरिसकेपछि पनि केजरीवालले उनीमाथि प्रश्न उठाएका थिए । केजरीवालले दिल्ली विधान सभाको निर्वाचनमा मोदीकै पार्टीलाई नराम्ररी बढारेका थिए ।
मोदीको प्रधानमन्त्रित्वकालको अर्को चर्चित विवाद बन्न पुग्यो जेएनयू विवाद । सोही विवादका कारण जेएनयू छात्रसंघका अध्यक्ष कन्हैया कुमार जेल पुगे भने मोदी सरकारको रवैयाको पनि चर्को आलोचना हुन पुग्यो । जेएनयू काण्डमा सरकार पक्षीय र विपक्षी समूह स्पष्ट दुई कित्तामा विभाजित बने ।
नेहरू विश्वविद्यालय (जेएनयू)का विद्यार्थीले संसद् विस्फोटमा दोषी ठहर भई सन् २०१३ मा फाँसीको सजाय पाएका अफजल गुरुको स्मरणमा गरिएको एउटा कार्यक्रममा भारतविरोधी नारा लागेको विषयले चर्को रूप लियो । कार्यक्रमको नाम थियो, ‘हुलाकी कार्यालयविहीन देश : अजफज गुरु र मकबुल भाटको फाँसीविरुद्ध ।’ यसको भाजपा समर्थित अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले विरोध गरेको थियो । सोही विवादले उग्ररूप लिएपछि जेएनयू विद्यार्थी संघका अध्यक्ष कन्हैया कुमारसहित केहीलाई हिरासतमा सम्म राखियो भने केहीलाई विश्वविद्यालयबाट निष्कासन गरिएको छ । अझै पनि जेएनयूमा यो विवाद पूर्ण रूपमा समाधान भइसकेको छैन ।

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास