रहस्यमयी दरबारमा दुर्लभ जमघट

केशरमणि कटुवाल

उत्तर कोरिया आफैंमा एउटा रहस्यको देश हो । निरंकुश शासन व्यवस्था भएको यहाँभित्र हुने हरेक गतिविधि थाहा पाउनका लागि सबैलाई सहजै पहुँच हुने कुरै भएन । तर, उत्तर कोरियाली नेता किम जोङ उनको रहस्यमयी यो दरबारमा यतिबेला एउटा दुर्लभ जमघट भइरहेको छ ।
उत्तर कोरियाली वर्कर्स पार्टीको ३६ वर्षपछि पार्टी कंग्रेस (महाधिवेशन) हुन लागेको हो । यसमा उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो योजनाको खाका पेस गर्नेछन् । कंग्रेसमा नयाँ पुस्ताका नेताहरूमा समेत पद बाँढिन सक्ने बताइएको छ ।
उत्तर कोरियाले पाँचौं मिसाइल परीक्षण गर्ने हल्ला र आशंकाकाबीच पार्टी कंग्रेसको तयारी भएको हो । गत जनवरीमा चौथो परमाणु परीक्षण र मिसाइल परीक्षण तथा फेब्रुअरीमा स्याटेलाइट परीक्षण गरेपछि उत्तर कोरियामाथि राष्ट्र संघ सुरक्षा परिषद्सहित अन्तर्राष्ट्रिय समुदायले कडा नाकाबन्दी लगाइरहेका बेला यो जमघट हुन लागेको हो ।
३६ वर्षपछिको जमघट
सन् १९८० पछि पहिलोपटक हुन लागेको सातौं पार्टी कंग्रेसमा किम जोङ उनले आफ्नो ‘ब्योङजिन’ नीतिको घोषणा गर्न सक्नेछन् जसमा आर्थिक विकास र परमाणु क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
उत्तर कोरिया सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई यसको समाचार संकलनका लागि स्वीकृति दिएको छ । उनीहरूले कंग्रेसको समाचार संकलन गर्न पाए पनि उत्तर कोरियाली जनतासँग सम्पर्क गर्न भने पाउने छैनन् ।
वर्तमान शासक किम जोङ उनका बाबु किम जोङ इलको शासनकालमा वर्कर्स पार्टीको महाधिवेशन आयोजना गरिएको थिएन । सन् २०११ मा उनको मृत्युपछि किम जोङ उन सत्तामा आए, त्यसबेला उनी ३० वर्षका पनि थिएनन् ।
यसले एक नयाँ केन्द्रीय समितिको गठन गर्नेछ, जसमा पोलिटब्युरो र अन्य मुख्य राजनीतिक पदमा भागबन्डा हुनेछ । किम जोङ उनप्रति बफादार केही नेतालाई महŒवपूर्ण पद दिइनेछ ।
उनले जसलाई चयन गर्नेछन्, तिनीहरूमा उच्च निगरानी पनि हुनेछ । सन् २०१३ मा किम जोङ उनले आफ्ना फुपाजुलाई ‘विश्वासघात गरेको’ आरोपमा मृत्युदण्ड दिएका थिए । त्यसपछि पनि उत्तर कोरियामा सरकारकै ठूला पदमा बसेकाहरूको समेत दुर्गतिको खबर बेलाबेलामा आइरह्यो ।
उनले आफ्नी बहिनी किम यो जोङलाई बढुवा गर्न सक्ने संकेत गरेको विश्लेषकले जनाएका छन् । उनले बहिनीसँगै स्विट्जरल्यान्डमा पढेका थिए । उत्तर कोरियाले महŒवका साथ आर्थिक वृद्धिको योजनालाई घोषणापत्रमा समावेश गर्छ कि गर्दैन भन्ने विषय यतिबेला अन्तर्राष्ट्रिय चासोको प्रमुख पाटो हो ।
कोरिया स्थापनाको फिल्मी कहानी
कोरियाली प्रायद्वीपमा अहिले पनि तनावपूर्ण अवस्था छ । कोरियाली भूमिको इतिहास पल्टाउने हो भने यसको विभाजनको कथा कुनै फिल्मी कथाभन्दा फरक छैन ।
आजभन्दा करिब ७० वर्षअघि उत्तर र दक्षिण कोरिया एउटै थियो । कृषि र उद्योग हरेक क्षेत्रमा कोरियाको वर्चस्व थियो । सन् १९४५ मा अन्त्य भएको दोस्रो विश्वयुद्धपछि संसार दुई कित्तामा बाँडियो । यससँगै कोरिया पनि दुई कित्तामा विभक्त भयो र उत्तर कोरिया र दक्षिण कोरिया नामका अलग दुई राष्ट्र बने ।
उत्तरले साम्यवादी मुलुकको बाटो पछ्यायो भने दक्षिण कोरियाले पुँजीवादी शक्तिको साथ पायो । तर, कोरियाली प्रायद्वीप यसरी दुई अलग राजनीतिक कित्तामा बाँढिनुको कारण भने धेरै कमलाई मात्रै थाहा छ ।
कोरियाली प्रायद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको राज थियो । दोस्रो विश्वयुद्धको अन्त्यतिर जब जापानले आत्मसमर्पण ग¥यो त्यसबेला कोरियाको दक्षिणी भागमा अमेरिकी सेना थिए भने उत्तरी भागमा रुसी सेना ।
त्यसबेला विदेशी सेनाका कारण विचारधारामा आधारित युद्ध सुरु भयो । यही नै कोरिया विभाजनको पहिलो कारण बन्यो । २५ जुन १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण ग¥यो । त्यसबेलादेखि सुरु भएको दुई देशबीचको विवाद अहिले पनि जारी छ ।
अहिले पनि उत्तर कोरियालाई रुस, चीनलगायतका देशले नरम दृष्टिकोणले हेर्छन् भने दक्षिण कोरियाले पुँजीवादी देशको साथमा ठूलो आर्थिक विकास गरेको छ । उत्तर कोरिया अहिले अमेरिकाजस्ता शक्तिसम्पन्न देशका लागि समेत एउटा चुनौतीको रूपमा स्थापित भएको छ ।
एक देश उन्नत, एक कमजोर
कोरियाली प्रायद्वीपमा भएको युद्धपछि दुवै देशको जमिन एकै किसिमको थियो । दुवै देश समुद्रसँग जोडिएका छन् । तर, आज दक्षिण कोरियाले कृषि र उद्योगको विकास गर्दै आफ्नो समृद्धिको यात्रा तय गरेको छ भने उत्तर कोरियाको अवस्था अझै पनि दयनीन नै रहेको छ । दक्षिण कोरियामा सामसुङ, एलजी, हुन्डाइजस्ता कम्पनी स्थापना भएका मात्रै छैनन् संसारकै १५औं आर्थिक शक्ति सम्पन्न मुलुक बनेको छ । तर, सँगै सीमा जोडिएको उत्तर कोरियाको अवस्था अहिले पनि जर्जरै छ ।
माओको मृत्युपछि बदलियो तस्बिर
सन् १९७६ मा माओत्सेतुङको मृत्युको समयसम्म दुवै कोरियाको कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय बराबरजस्तै थियो । यहाँसम्म कि उत्तर कोरियाका मानिस दक्षिणका भन्दा बढी पढेलेखेका र विवेकशील थिए । त्यसबेला उत्तरको अर्थव्यवस्था चीनसँग खुला र लचिलो थियो ।
सन् १९७० देखि १९७६ सम्म उत्तर कोरियाको जीडीपी दक्षिणको भन्दा केही गुणा बढी थियो । तर, त्यसपछि उत्तर कोरियाको अर्थव्यवस्था ओरालो लाग्यो र करिब सन् १९९५ सम्ममा उत्तर कोरियाको अर्थ व्यवस्था संकटतर्फ धकेलियो । उत्तर कोरियामा सन् १९९५ देखि १९९९ सम्म लागेको भोकमरीका कारण १० लाख मानिसको मृत्यु भएको अनुमान छ ।
दक्षिणको प्रतिव्यक्ति आय
दक्षिण कोरियाली जनताको क्रयशक्ति दिनानुदिन बढ्दै गइरहेको छ । उनीहरूको प्रतिव्यक्ति आय ३३ हजार ४ सय ४० रहेको छ भने उत्तर कोरियाको करिब १ हजार ८ सय डलरमात्रै रहेको छ । करिब ५ करोड जनसंख्या रहेको दक्षिण कोरियाको बचत मात्रै उत्तर कोरियाको कुल ग्राहस्थ उत्पादनभन्दा १० गुणा बढी छ । तर, अहिले पनि उत्तर कोरियाले अमेरिकामाथि हुंकार गरिरहेको छ ।
सैनिक बजेट अत्यधिक
आर्थिक क्षेत्रमा दक्षिण कोरिया शक्तिशाली भएपनि सैन्य क्षेत्रमा उत्तर कोरिया धेरै शक्तिशाली मानिन्छ । उत्तर कोरियाले आफ्नो जीडीपीको करिब एक चौथाई सैन्य क्षेत्रमा खर्च गर्छ । अर्थात्, उत्तरले सम्पूर्ण बजेटमा हरेक १० रुपैयाँमा २.५ देखि ३ रुपैयाँसम्म रक्षा क्षेत्रमा खर्च गरिरहेको छ ।
को कति शक्तिशाली ?
उत्तर कोरियाले जुनसुकै समयमा पनि युद्धको धम्की दिइरहेको हुन्छ । उससँग करिब ३ हजार ५ सय ट््यांक, ११ लाख सेना र ४७ लाख रिजर्भ फोर्स रहेको छ । हाल उत्तर कोरियासँग संसारकै पाँचौं सबैभन्दा सक्रिय सुरक्षा फौज रहेको छ ।
करिब दुई वर्षअघि उत्तर कोरियासँग ११ हजार एयर डिफेन्स गन, १० हजार घातक मार हान्न सक्ने एयर मिसाइल र ४३ मिसाइल क्राफ्ट तथा १ सय टोरपेडो क्राफ्टसहित आधुनिक हतियार रहेको बताइन्थ्यो । पछिल्लो समयमा आणविक क्षेत्रमा हात हालेको उत्तर कोरियासँग कति घातक हतियार छन् भन्ने यकिन छैन ।
यसको ठीक उल्टो दक्षिण कोरियासँग ७ लाख एक्टिभ आर्मी, ४५ लाख रिजर्भ फोर्स रहेको छ । ५२ डिभिजनमा बाँडिएका दक्षिण कोरियाका आर्मीसँग करिब २५ सय युद्ध ट््यांक, सोही हाराहारीमा लाइट ट््यांक, ६ सय एयर डिफेन्स गन, १ सय १७ युद्धक विमान छन् । यसले दुई कोरियाबीच कुन बढी शाक्तिशाली छ भन्ने कुरा प्रस्टिन्छ ।
दक्षिण कोरियाको औद्योगिक शान
कुनैपनि देशको अर्थव्यवस्थाको मजबुतीका लागि औद्योगिक विकास प्रमुख मानिन्छ । तर, उत्तर कोरिया अझै पनि औद्योगिक युगमा प्रवेश गरेको छैन । सोहीकारण उत्तर कोरिया अहिले आर्थिक सुधारको मामलामा करिब १ सय ७९ देशमा अन्तिमतिर रहेको छ, जबकि दक्षिण कोरिया धेरै अगाडि रहेको छ । सामसुङदेखि एलजी र हुन्डाइजस्ता कम्पनीहरू दक्षिण कोरियाको शानका रूपमा रहेका छन् । यसका साथै संसारकै सबैभन्दा बढी कार उत्पादन गर्ने जनरल मोटर्सका चार ठूला प्लान्ट पनि दक्षिण कोरियामा रहेका छन् । दक्षिण कोरिया अमेरिकाको छैठौं सबैभन्दा ठूलो कारोबारी साझेदार मुलुक हो । दक्षिण कोरियाका कम्पनीले हाल आएर देशभन्दा बाहिर कम्पनी विस्तारको क्रम सुरु गरेका छन् ।
दक्षिणको सहारामा उत्तरको भोजन
दक्षिण कोरियाको आयको प्रमुख साधन कृषि र उद्योग हो । तर, उत्तर कोरियाको आयको प्रमुख स्रोत भनेको उत्तर–दक्षिण कोरियाको सीमा क्षेत्रमा बनेको कोसाङ औद्योगिक कम्प्लेक्स हो । यस कम्प्लेक्समा १ सयभन्दा बढी दक्षिण कोरियाली कम्पनीको व्यापार रहेको छ । यस क्षेत्रमा रहेका उद्योगको संख्या सम्पूर्ण उत्तर कोरियाको उद्योगको संख्याको बराबरजस्तै छ ।
यसरी हेर्दा समान स्तरबाट अलग बनेका दुई राष्ट्र उत्तर र दक्षिण कोरिया आज आफ्नो आर्थिक र राजनीतिक नीतिकै कारण दुई अलग स्थानमा पुगेका छन् ।


साम्यवादको सपना देख्ने कम्युनिष्ट पार्टीले सञ्चालन गरेको चीन आज विश्वकै आर्थिक शक्ति राष्ट्र बन्दा एउटै सिद्धान्त बोकेको उत्तर कोरियाको आर्थिक अवस्था जर्जर अवस्थामै रहनु समीक्षाको प्रमुख पाटो हो । लामो समयदेखि निरंकुश शासन व्यवस्थामा जकडिएको उत्तर कोरियाली वर्कर्स पार्टीको सातौं कंग्रेसले लिने नीतिले करिब २५ करोड उत्तर कोरियाली जनताको भाग्य र भविष्यको फैसला गर्नेछ ।

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास