ब्राजिली अन्तरिम राष्ट्रपति टेमरका चुनौती
केशरमणि कटुवाल
राष्ट्रपति डिल्मा रुसेफमाथिको महाअभियोग प्रमाणित भएसँगै कानुनका प्राध्यापकसमेत रहेका लेबनानी मुलका ७५ वर्षीय मिसेल टेमरले अन्तरिम राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।
उनी सिंगो ब्राजिल अशान्त बनेको र राजनीतिक घटनाक्रम तीव्र बनेको समयमा ब्राजिलको नेतृत्व गर्न आइपुगेका छन् । ब्राजिलले विगत २५ वर्षयताकै सबैभन्दा बढी मन्दीको सामना गरिरहेको छ भने आगामी अगस्ट महिनामा विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना गर्ने जिम्मेवारी पनि उनको काँधमा रहेको छ ।
ब्राजिलले ओलम्पिक खेल आयोजना गर्न लागेको यो पहिलोपटक हो भने सन् २०१४ मा विश्वकप फुटबल आयोजना गर्दा धेरै विरोध र आन्दोलनको सामना गर्नुपरेको थियो । आर्थिक रूपमा देश संकटका दिशातर्फ गइरहेका बेला प्रतियोगिता गर्न नहुने भन्दै ब्राजिलकै पूर्वस्टार फुटबलर रोमारियोलगायतले सो आन्दोलनको जेहाद छेडेका थिए ।
रुसेफमाथिको आरोप अस्वीकार
राष्ट्रपति रुसेफमाथि सिनेटरहरूले देशलाई नराम्रो संकटतर्फ धकेलेको आरोप लगाएका छन् । अब, उनीमाथि लागेको आर्थिक आरोपबारेको सुनुवाई हुनेछ । त्यो अवधि १ सय ८० दिनको हुनेछ ।
आफूविरुद्धको महाअभियोगको प्रस्ताव ल्याउने प्रक्रिया रोक्न उनले अदालती प्रक्रियासमेत अपनाएकी थिइन्, तर सफल हुन सकिनन् । उनले राज्यकोषको दुरुपयोग गरेको भन्ने आरोप विपक्षीले सत्ता हत्याउने आफ्नो वास्तविक उद्देश्य ढाकछोप गर्न चालेको एउटा चालको संज्ञा दिँदै आएकी छन् ।
उनीमाथि सन् २०१४ को चुनावअघि व्यापक रूपमा आर्थिक अनियमितता गरेको आरोप लगाइए पनि त्यसलाई पटकपटक अस्वीकार गर्दै आएकी छन् । तर, ब्राजिलमा पछिल्लो समयमा चर्किएको आर्थिक मन्दीका प्रभाव उनको कुर्सीसम्मै प¥यो ।
रुसेफको सम्भावना
डिल्मा रुसेफले यस वर्षको अन्त्यमा फेरि आफ्नो पदमा बहाली हुनका लागि कोशिस गर्नेछिन् । यदि, उनी महाअभियोगविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा पराजित भएका खण्डमा भने मिसेल टेमर ब्राजिलमा सन् १९८० मा सैनिक शासकबाट मुक्त भएपछिको सातौं राष्ट्रपतिका रूपमा उदाउनेछन् ।
त्यस्तो अवस्थामा उनले सन् २०१८ सम्म ब्राजिललाई नेतृत्व प्रदान गर्नेछन् । लामो कार्यकाल होस् वा छोटो तर उनको कार्यकाल ब्राजिलको इतिहासमा चुनौती नै चुनौतीले भरिएको छ ।
ब्राजिलकी पहिलो महिला राष्ट्रपति रुसेफमाथि महाअभियोग लगाउँदा वित्तीय कानुन तोडेको, नेतृत्व गर्न असफल भएको र अर्थतन्त्रलाई क्षति पु¥याएको आरोप लगाइएको छ ।
रुसेफकै सत्ता साझेदार रहेर उपराष्ट्रपतिका रूपमा रहेका टेमरले नै रुसेफलाई महाअभियोग लगाउने विषयको नेतृत्व पनि गरेका थिए । अब, उनलाई रुसेफमाथि दोष थोपरेर उम्कने बाटो हुनेछैन र अर्थतन्त्रलाई सबल र सक्षम बनाउने स्थानमा आफैं पुगेका छन् ।
धर्मराएको ब्राजिलको अर्थतन्त्र
अहिले ब्राजिलको अर्थव्यवस्था धर्मराएको छ । ६ वर्षअघि नै ७.५ प्रतिशतको आर्थिक वृद्धि भइरहेको ब्राजिलमा अहिले आर्थिक वृद्धिदर ३.८ प्रतिशतमा सीमित छ । मुद्रास्फीतिदर गत वर्ष १० प्रतिशतभन्दा बढी थियो र ब्राजिलमा एक वर्षको अवधिमा १० लाखभन्दा बढीले आफ्नो रोजगारी गुमाउनुपरेको छ । विगत एउटै सरकारमा बसेका रुसेफ र टेमरबीच सिद्धान्तमा त्यति धेरै फरक छैन ।
उनी ब्राजिलले तीन वर्षदेखिको जनताको ऋण तिर्नसक्ने विश्वास गर्छन् । जुुन ब्राजिलको कुल गार्हस्थ उत्पादनको ८० प्रतिशत हुने त्यहाँको क्रेडिट रेटिङ एजेन्सीको अनुमान छ ।
थोरै लगानी गर्नेको लगानी सुरक्षित बनाउने र ऋण तिर्ने आत्माविश्वास वृद्धि होस् भन्नका लागि पनि ब्राजिली अन्तरिम राष्ट्रपति टेमरले आफ्नो तर्फबाट केही न केही सुधारको प्रयासको सुरुवात गर्नु आवश्यक छ ।
ब्राजिलमा कर वृद्धि गर्नेलगायतका विषयमा राजनीतिक समर्थन आवश्यक छ । रुसेफले गत वर्ष सन् २०१५÷२०१६ राष्ट्रिय बचतलाई वृद्धि गर्ने प्रतिबद्धता गरे पनि त्यसमा सफल हुन सकिनन् ।
रुसेफको बिदाइ र टेमरको आव्हान
राष्ट्रपति डिल्मा रुसेफले सिनेटमा आफूविरुद्ध ५५ जनाले मतदान गरी महाअभियोग लगाएपछि एक भावपूर्ण सम्बोधन गरिन् । उनले सो सम्बोधनका क्रममा आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै महाअभियोगविरुद्ध सबै अस्त्र प्रयोग गरेर लड्ने बाचा दोहो¥याइन् ।
रुसेफलाई महाअभियोग लगाइएपछि नयाँ अन्तरिम राष्ट्रपति मिसेल टेमरले देशवासीलाई सम्बोधन गर्दै एकढिक्का भएर आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले आगामी अगस्ट महिनामा हुने ओलम्पिक खेल विश्वलाई ब्राजिलको वास्तविक आर्थिक र राजनीतिक अवस्था प्रदर्शन गर्ने विशिष्ट अवसर भएको उद्घोष गरे ।
कानुनी अन्याय हो : रुसेफ
वामपन्थी पृष्ठभूमिकी राष्ट्रपतिको सत्ता पल्टाउन टेमर आफंैले भूमिका निर्वाह गरेका थिए । तर, उनी गत मार्चमा रुसेफ सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि उपराष्ट्रपतिका रूपमा काम गरेका व्यक्ति हुन् ।
रुसेफले आफ्नो सत्ता हत्याउनका लागि टेमरले नै भूमिका खेलेको बताउँदै आएकी छन् । उनले महाअभियोग लागेपछि आफूमाथि भएको यो कानुनी प्रक्रियाको अन्याय भएको भन्दै यसविरुद्ध लड्ने बताएकी छन् ।
उनका समर्थकले एक निर्दोष महिलालाई तिरस्कार गर्ने महाअभियोग अन्यायपूर्ण भएको बताएका छन् । ब्राजिलको माथिल्लो सदन सिनेटमा रुसेफको पक्षमा बोल्ने वर्कर्स पार्टीका २२ जना सिनेटरले उच्च वर्गले प्रजातन्त्र नरुचाएको भन्दै चर्को आलोचना गरे ।
मन्त्रिपरिषद् बन्ने वित्तिकै आलोचना
राष्ट्रपति डिल्मा रुसेफको पालामा रहेका ३२ वटा मन्त्रालयलाई घटाएर २३ वटा बनाउँदै उनले नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका छन् । तर, सरकार गठनलगत्तै उनको आलोचना भएको छ ।
उनीमाथि पहिलो दिन नै ब्राजिलको विविधतालाई समेट्न नसकेको अरोप लागेको छ । किनकि, उनको मन्त्रीमण्डलमा सबैजना गोरा जातिका पुरुष रहेका छन् । सन् १९७९ पछि ब्राजिलमा महिलालाई मन्त्रीमण्डलमा कुनै स्थान नदिइएको यो पहिलो घटना हो ।
टेमरले ६८ वर्षीय रुसेफमाथिको महाभियोगबारे सुनवाइ गर्न उपलब्ध गराइने अधिकतम समयसीमा अर्थात् अबको १ सय ८० दिनसम्म राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । हेनरिक मिरालेस टेमरका अर्थमन्त्री बनेका छन् । उनलाई ब्राजिलको यथार्थवादी बजेट लक्ष्यनिर्धारित गर्ने र उपभोक्ता तथा लगानीकर्तामा विश्वासको वातावरण सिर्जना गर्ने जिम्मेवारी छ ।
तत्कालीन चुनौतीहरू
ब्राजिलसामु अहिले न्यूनतम आयलाई वृद्धि गर्ने, प्राविधिक शिक्षा, गरिब लक्षित सामाजिक कार्यक्रमलाई दृढतापूर्वक अघि बढाउने चुनौती पनि सँगै रहेको छ । बजेट कटौतीको समयमा उनले सामाजिक कामका क्षेत्र र प्रभावकारितालाई समीक्षा गरिने बताएका छन् । एक लोकप्रिय राष्ट्रपति बन्नका लागि उनले गरेको यो ठूलो निर्णय हो । तर, त्यसका लागि उनलाई त्यति सजिलो भने छैन । लामो समयदेखि उनीसँगै काम गरिरहेका अर्थशास्त्री रिकार्डो पेस डे बार्डोसले सामाजिक कार्यक्रमको सावधानीपूर्वक समीक्षा र खर्च कम हुन नहुने बताएका छन् ।
शुद्ध छैनन् टेमर आफैं पनि
उनले देशकै ठूलो पेट्रोलिम भण्डार पेट्रोबासमा भ्रष्टाचार भए नभएबारे औपचारिक रूपमा अनुसन्धान गरेका छैनन् । तर, अनुसन्धान गर्नुपर्ने व्यक्तिको सूचीमा उनको नामसमेत रहेको छ ।
उनको राष्ट्रपति पदमाथि पनि दुईवटा औपचारिक चुनौती रहेका छन् । ब्राजिलको चुनावी अदालतले अघिल्लो वर्ष नै रुसेफ र टेमरले अबै चन्दाबाट टिकट पाएको बताएको थियो ।
उनी पछिल्लो समयमा रुसेफलाई पन्छाएर राष्ट्रपति बन्न त सफल भएका छन्, तर उनले आफूमाथि नै लागेका आरोपको खण्डन पनि सँगै गर्दै जानुपर्नेछ । राष्ट्रपति रुसेफमाथिको महाअभियोग त्यहाँको राजनीतिक संकट समाधानको सम्पूर्ण बाटो नभएको भन्दै ब्राजिलमै यसको आलोचना भइरहेको छ ।
ब्राजिलको संसद्को तल्लो सदन ‘चेम्बर आफ डेम्पुटिज’ मा अत्याधिक मतका साथ राष्ट्रिपति रुसेफमाथिको महाअभियोगको प्रस्ताव पारित भएको करिब एक महिनामा माथिल्लो सदन सिनेटबाट समेत भारी मतका साथ महाअभियोगको प्रस्ताव पारित भयो ।
सिनेटमा २० घन्टा लामो चर्को बहसमा ५५ जनाले रुसेफका विपक्षमा र २२ जनाले पक्षमा मतदान गरे । तर, एक सर्वेक्षणमा ब्राजिलका ८ प्रतिशत जनतामात्रै उनीमाथि लागेको महाअभियोगबाट खुसी भएको पाइएको छ ।
ब्राजिलमा राष्ट्रपति रुसेफमाथि महाअभियोग लागेपनि कतिपयले यसलाई सत्ताको उथलपुथलका रूपमा लिएका छैनन् र आगामी दिनमा टेमरले राष्ट्रपति रुसेफको महाअभियोगबाट खुसी नभएका ९२ प्रतिशत आम जनताको विरोधको सामना गर्नु नपर्ला भन्न सकिन्न ।
टेमरको पार्टीका नेता नै भ्रष्टाचारको छानबिनमा अन्तरिम राष्ट्रपति टेमरको पार्टी पीएमडीबी नै पेट्रोबास काण्डमा गम्भीर रूपमा फसेको छ ।
ब्राजिलको माथिल्लो सदन सिनेटका अध्यक्ष रेहन क्यालहैरोससहित पार्टीका शीर्ष नेतामध्ये केही औपचारिक रूपमा भ्रष्टाचार काण्डमा मुछिएका छन् । उनीहरूको भ्रष्टाचारको मुद्दामाथि गम्भीर रूपमा छानबिनमा त्यहाँको संघीय प्रहरीले न्याय मन्त्रालयको मातहत रहेर भूमिका निभाइरहेको छ । ब्राजिलमा उनले राजनीतिक संकट टार्नका लागि भ्रष्ट नेतालाई समेत साथमा लिनसक्ने आशंका पनि प्रशस्तै उठाइएका छन् ।
उनले उठाएका सबै कदम पारित हुन्छन् र उनले ब्राजिललाई नयाँ दिशा प्रदान गर्न सक्छन् भन्नेमा पनि उत्तिकै आशंका व्याप्त छन् । किनकि, सबै उनको नीतिको भविष्य सिनेटर र सांसदको स्वीकृतिमा भर पर्नेछ ।
Comments
Post a Comment