पाकिस्तानमा प्रतिशोधको राजनीति
केशरमणि कटुवाल
पाकिस्तान सार्क राष्ट्रमा भारतलाई टक्कर दिने एकमात्रै देश हो । तर, विगत लामो समयदेखिको अस्थिर राजनीति र पटकपटकको सैनिक ‘कु’ पाकिस्तानको प्रजातान्त्रिक प्रक्रियामा बाधक बन्दै आएको छ ।
पाकिस्तानी सेनाले बिहीबार मात्रै एकैपटक ११ जना वरिष्ठ सैन्य अधिकारीलाई बर्खास्त गरेपछि फेरि पाकिस्तानमा सेनाले आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको टिप्पणी सुरु भएको छ ।बर्खास्त हुनेमा एक लेफ्टिनेन्ट जनरल, एक मेजर जनरल, पाँच ब्रिगेडियर, तीन कर्णेल र एकजना मेजर रहेका छन् ।
पाकिस्तानी सेनाले यति धेरै संख्यामा सैनिक अधिकारीलाई बर्खास्त गरेको यो पहिलो घटना हो । पाकिस्तानी सेनाबाट बर्खास्त हुने सबै अधिकारी लेफ्टिनेन्ट जनरलदेखि मेजर जनरलसम्म रहेका छन् ।
उनीहरू सबैजना भ्रष्टाचारको अभियोगमा एकैपटक बर्खास्तगीमा परेका हुन् । भ्रष्टाचारको आरोपमा पाकिस्तानी सेनाले लेफ्टिनेन्ट जनरल उबैदुल्लाह खटक, मेजर जनरल एजाज साहिद, ब्रिगेडियर असद सहजादा, ब्रिगेडियर आमिर र सैफ तथा कर्णेल हैदरसहितलाई सेवाबाट बर्खास्त गरेको हो ।
भ्रष्टाचारको अभियोगमा बर्खास्तगीमा परेसँगै उनीहरूले सेवा निवृत्त भएपछि पाउने कुनैपनि सुविधा पाउने छैनन् । बर्खास्तमा परेका सैनिक अधिकारीमध्ये एजाज साहिद र उबैदुल्लाह खटकले बलुचिस्तानमा फ्रन्टियर कोरको प्रमुख भएरसमेत काम गरिसकेका थिए ।
उबैदुल्लाह खटक बलुचिस्तानमा फ्रन्टियर कोरको प्रमुख रहेका बेला सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश इस्तेखार मोहम्मद चौधरीले भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै कारण देखाउ आदेशसमेत जारी गरेका थिए ।
अहिले पाकिस्तानी सेनाले यी सबैजनालाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरेको हो ।
बर्खास्तगीमा परेकामध्ये एक मेजर जनरलले आफू पदमा रहँदा आफ्ना छोरालाई गाडी सिकाउन अन्य दुई सैनिक अधिकारीलाई पठाएको र सोही क्रममा दुर्घटनामा परी उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा एक मेजर र एक क्याप्टेन थिए ।
सेनाले यस घटनालाई भ्रष्टाचारभन्दा पनि पदीय दुरूपयोग गरेको अभियोग लगाएर हटाएको हो भने अन्य सैनिक अधिकारीलाई भ्रष्टाचारको कारण हटाएको भनेपनि पूर्ण विवरण खुलाएको छैन ।
पाकिस्तानी सेनाको यस कदम यस्तो बेलामा आएको छ कि भर्खरै संसारभर तहल्का मच्चाएको पनामा पेपर्समा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका परिवारका सदस्यसमेत मुछिएका छन् ।पनामा पेपर्स प्रकरणमा प्रधानमन्त्री सरिफ मुछिएलगत्तै आएको पाकिस्तानी सेनाको यस कदमलाई शंकास्पद रूपमालिइएको छ ।पनामा पेपर्सले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका दुई छोरा र एक छोरीले विदेशमा खाता खोलेको तथा कम्पनी बनाएको खुलासा गरेको थियो ।
पाकिस्तानी सेनाको पछिल्लो कदमले सैनिक सेवामा रहेका अधिकारीको मनोबल नगिर्ने बरु यसले सेनालाई जवाफदेही बनाउने दाबी गरिएको छ । सुरक्षा विज्ञहरूले यहीनेर प्रश्न उठाएका छन् कि पाकिस्तानी सेनामा भएको भ्रष्टाचारका आरोपीलाई सजाय दिएर समग्र राजनीतिलाई पनि चेतावनी दिन खोजिएको छ ।
सेनाले आफूलाई ‘हाम्रो संस्था यति स्वच्छ छ कि कसैले यहाँ गलत क्रियाकलाप गर्छ भने त्यसलाई यसमा कुनै स्थान छैन र पाकिस्तानी सेना कुनै पनि अन्य संस्थाभन्दा राम्रो छ’ भनेर साबित गर्न खोजेको छ ।
पाकिस्तानी सेनाको पछिल्लो कदम र सैनिक प्रमुख रहिल सरिफको अभिव्यक्तिले हरेक निकायलाई जवाफदेही बनाउनुपर्ने सन्देश दिएको छ । सेनाप्रमुख सरिफले केही दिनअघि मात्रै देशलाई स्थिरताको बाटोमा लैजानका लागि आतंकवाद र भ्रष्टाचार अन्त्य हुनुपर्ने बताएका थिए ।
पाकिस्तानी प्रधानमन्त्री सरिफका अघि १८ महिनापछि अर्थात सन् २०१८ मा हुने चुनावमा आफूलाई सक्षम राजनीतिज्ञको रूपमा प्रमाणित गर्नुपर्ने चुनौती पनि सँगै उभिएको छ ।
पाकिस्तानी इतिहासमाभारतसँग विभाजित गरेर पाकिस्तानलाई छुट्टै मुस्लिम राज्यको रूपमा स्थापना गर्ने मोहम्मद अली जिन्हापछिका कुनै पनि शासकले सही मार्गमा डोहो¥याउन सकेका छैनन् ।पाकिस्तानको सत्तामा पुग्ने हरेक नेता कुनै न कुनै राजनीतिक दाउपेच र प्रतिशोधको सिकार बन्ने गरेका छन् । वर्तमान प्रधानमन्त्री नवाज सरिफ आफैं त्यसका एक उदाहरण हुन् ।
सन् १९७६ मा जुल्फिकर अली भुट्टोको सरकारले परिवारको व्यवसाय राष्ट्रियकरण गरिदिएपछि राजनीतिमा होमिएका नवाज सरिफले सैन्य ‘कु’ जेल र निर्वाचन मात्रै बेहोरेनन् राजनीतिमा थुप्रै अवरोधकोसामना गरे ।
सन् १९८९ को चुनावमा बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टीलाई चुनौती दिँदै सरिफ सहितका अन्य सात धार्मिक दलको गठबन्धनले बहुमत हासिल गरेपछि उनी १९९० मा पाकिस्तानको १२औं प्रधानमन्त्री बनेका थिए ।
सन् २००८ को आम चुनावमा पनि सरिफको दलले राम्रै नतिजा ल्याएपनि रावलपिन्डिमा बेनजिर भुट्टोको हत्या भएपछि पाएको सहानुभूतिका कारण निर्वाचनको नतिजा पाकिस्तान पिपुल्स पार्टीको पक्षमा गएको थियो ।
समग्रमा तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका सरिफ अघिल्लोपटक सैनिक शासक परवेज मुसर्रफबाट सत्ताच्युत भई निर्वासित जीवन विताउन बाध्य बनेका थिए भने पहिलोपटक सन् ११९० मा प्रधानमन्त्री बन्दा पनि उनी सन् १९९३ मा सेनासँगको विवादकै कारण पदबाट राजीनामा गर्न बाध्य भएका थिए । दोस्रोपटक प्रधानमन्त्री बनेका उनको सरकारलाई परवेज मुसर्रफले सन् १९९९ मा हटाएको थियो भने सन् २००० मा निर्वासनमापठाएको थियो ।
त्यो सत्तापलटसँगै उनलाई पाकिस्तानी ‘एन्टि टेरोरिजम कोर्ट’ले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । साउदी अरबको मध्यस्थतामा उनी जेलबाट बचेर साउदीकै जेद्दामा उनले निर्वासित जीवन बिताएका थिए ।
सन् २००७ अगस्ट २३ मा पाकिस्तानी सर्वोच्च अदालतले पाकिस्तान फर्किन स्वीकृति दिएपछि उनी २००७ सेम्टेम्बर १० मा पाकिस्तान फर्किएका थिए । सात वर्षको निर्वासित जीवन बिताएर पाकिस्तान फर्किएका उनलाई तत्कालै इस्लामावादबाट जेद्दा नै फिर्ता पठाइएको थियो । सन् २०१३ मा भएको आम निर्वाचनमा उनको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल)ले बहुमत प्राप्त गरेपछि उनी तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका हुन् ।
पाकिस्तानको इतिहासलाई सरसर्ती मूल्यांकन गर्ने हो भने अहिले देखिएको दाउपेचले कुनै न कुनै स्थानमा पुगेर उनी त्यसको सिकार नहोलान् र पाकिस्तानमा जननिर्वाचित सरकार फेरि अँध्यारो सुरुङमा नपु¥याइएला भन्न सकिने अवस्था छैन ।
सैनिक अधिकारीलाई बर्खास्त गरेर सेनाले फेरि एकपटक पाकिस्तानको राजनीतिमा आफ्नो भूमिकाको संकेत गर्न खोजेको छ ।
नवाज सरिफ यस्ता राजनीतिज्ञ हुन् जो तीनपटक प्रधानमन्त्री बन्दा एकपटक सेनास“गको टक्करका कारण राजीनामा दिए भने एकपटक सेनाबाटै बर्खास्त भएका थिए ।प्रधानमन्त्री सरिफका अघि सन् २०१८ मा हुने चुनावमा आफूलाई सक्षम राजनीतिज्ञको रूपमा प्रमाणित गर्नुपर्ने चुनौती पनि स“गै खडा भएको छ ।
Comments
Post a Comment