विधान सभा परिणामको सन्देश
– आसाममा बीजेपीको पहिलो सरकार, तमिलनाडुमा जयललिताको पुनरोदय
– कंग्रेसभित्र उठ्यो नेतृत्व परिवर्तनको आवाज
– जयललिताको लगातार चुनाव जित्ने रेकर्ड
– जनताले गरे कंग्रेस–वाम गठबन्धन अस्वीकार
– आसाममा बीजेपीको ‘पहिचान’को नारा
केशरमणि कटुवाल
भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनपछि सरकार गठनको घम्साघम्सी सुरु भएको छ । दक्षिणी राज्य केरलामा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का वरिष्ठ नेता बीएस अच्यूतानन्दलाई किनारा लगाउँदै पिनराई विजयसन मुख्यमन्त्री बन्ने भएका छन् भने पश्चिम बंगालमा तृणमूल कंग्रेसकी ममता बेनर्जी फेरि पनि पार्टी विधायक दलको अध्यक्ष चुनिएकी छन् ।असाममा बीजेपीका सर्वानन्द सोनोवालले २४ मेमा मुख्यमन्त्री पदको शपथ लिँदा तमिलनाडुमा जयललिताको पुनरोदय हुनेछ ।
आसाममा गयो कंग्रेसको सरकार
सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले जित हासिल गर्दै सरकार बनाएपछि भारतीय कंग्रेस पार्टीले पाँचवटा राज्यमा सरकार गुमाएको छ । त्यसमा आसाम पनि एक हो ।
आसाममा पहिलोपटक भारतीय जनता पार्टीले सरकार बनाउने भएको छ । २२ मेमा बस्ने विधायक दलको बैठकले सर्वानन्द सोनोवाललाई दलको नेता चयन गरेपछि उनको मुख्यमन्त्री बन्ने औपचारिक बाटो खुला हुनेछ भने २४ तारिखमा उनले मुख्यमन्त्रीका रूपमा शपथ लिनेछन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा बीजेपी शासित केही राज्यका मुख्यमन्त्रीसहित स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपीका अध्यक्ष अमित शाह सामेल हुनेछन् ।
जयललिताले तोडिन् रेकर्ड
जयललिताले भारतीय विधान सभाको निर्वाचनमा नयाँ रेकर्डसमेत बनाएकी छन् । उनले लगातार चुनाव जितेर ३२ वर्षअघिको रेकर्ड तोडेकी हुन् । ३२ वर्षअघि एमजी रामाचन्द्रनले लगातार चुनाव जित्ने रेकर्ड बनाएका थिए । बहुमतका साथ सत्तामा फर्किएकी उनले २७ मेमा मुख्यमन्त्रीको सपथ लिनेछिन् ।
जयललितालाई करिब दुई वर्षअघि ६० करोडभन्दा बढी भारतीय रुपैयाँको स्रोत नखुलेको भन्दै दोषी ठहर गर्दै जेल चलान गरिए पनि पछि धरौटीमा रिहा भएकी थिइन् । उनको पार्टी एआईएडीएमकेले २ सय ३२ सिटमध्ये १ सय ३४ मा जित हासिल गरेको छ ।
यस्तै, पश्चिम बंगालमा अर्की सशक्त महिला नेतृ ममता बनर्जीले पनि २७ तारिखमा नै मुख्यमन्त्रीका रूपमा शपथ लिनेछिन् । उनको पार्टी तृणमूल कंग्रेसले विधान सभाका कुल २ सय ९४ सिटमध्ये २ सय ११ मा जित हासिल गरेपछि उनी मुख्यमन्त्रीको पदमा आसीन हुने निश्चित भएको हो ।
पन्डुचेरीमा कंग्रेसलाई राहत
पन्डुचेरी मात्रै यस्तो राज्य हो जहाँ कंग्रेसले केही राहतको महसुस गरेको छ । पन्डुचेरीमा कंग्रेसले १५ सिटमा जित निकालेको छ । यो सन् २०११ को तुलतामा आठ सिट बढी हो ।
त्यसबेला कंग्रेसले मात्रै सात सिटमा जित निकालेको थियो । कंग्रेसले पाएको यो ३०.६ प्रतिशत भोट हो, जबकि २०११ मा कंग्रेसले २६.५३ प्रतिशत भोट पाएको थियो ।
कंग्रेसलाई परेको सकस
विधानसभा निर्वाचनमा बेहोर्दै आएको लज्जास्पद हारको शृंखला नरोकिएपछि कंग्रेसभित्रै सुधारको बहसले स्थान पाउन थालेको छ । भारतीय कंग्रेसमा एउटा पुरानै रोग व्याप्त छ, जहाँ जित भयो भने त्यसको श्रेय सोनिया र राहुल गान्धीमा जान्छ भने हार भयो भने संगठनलाई जिम्मेवार ठहर गरिन्छ । अहिले यसविरुद्ध कंग्रेसकै नेताहरू खुलेरै उत्रिएका छन् ।
शशी थरुर र ज्योतिरादित्य सिन्धियापछि दिग्विजय सिंहले पनि पार्टीमा व्यापक सुधारको पक्षमा वकालत गरेका छन् । दिग्विजय सिंहले पाँच राज्यको चुनावी परिणामलाई निराशाजनक भनेका छन्, तर उनले यो नतिजा अनपेक्षित नभएको तर्क गर्नुले कंग्रेस नेताहरू पराजित मानसिकतामा नै रहेको संकेत मिलेको छ ।
आफ्नैले दिए नेतृत्व बदल्ने सल्लाह
यसअघि चुनाव युवाहरूको भरोसामा जित्ने दम्भ प्रदर्शन गरेको कंग्रेस नेताहरूलाई अहिले आएर नेतृत्व बदल्नुपर्ने सल्लाह दिएका छन् । शशी थरुरले नेतृत्व बदल्नुपर्ने सल्लाह दिएलगत्तै राहुल गान्धीका निकटतम मानिने ज्योतिरादित्य सिन्धियाले कंग्रेसले आफ्ना बारेमा सोच्ने बेला आएको बताए ।
आसाममा बीजेपीको जितले उसलाई दोस्रो पूर्वोत्तर राज्यमा पाइला बढाउने बाटो खोलेको छ । हालको प्रतिनिधित्वको हिसाब गर्ने हो भने बीजेपी र उसको गठबन्धन नेतृत्वको सरकारको भारतमा ६९ प्रतिशत वर्चस्व छ । तर, यसअघि लगातार दुई कार्यकाल केन्द्रमा रहेर शासन गरेको कंग्रेसको मात्रै १४ प्रतिशत वर्चस्व देखिन्छ ।
सन् २०१४ मा केन्द्रमा बीजेपीको सरकार आएपछि भारतीय कंग्रेसले पाँच राज्यमा सरकार गुमाइसकेको छ । सोही वर्ष भएको लोकसभाको निर्वाचनमा कंग्रेस ४४ सिटमा सीमित भएको थियो । त्यसपछि महाराष्ट्र, हरियाणा, झारखण्ड, जम्मु कस्मिरमा सरकार गुमाएको कंग्रेसले अहिले आएर आसामबाट पनि हात धुनुपरेको छ ।
कंग्रेस–वाम गठबन्धनको शर्मनाक पराजय
यसपटकको विधानसभा निर्वाचनमा यसपटक पश्चिम बंगाल विशेष चर्चामा रह्यो । जहाँ कंग्रेस–वाम संयुक्त गठबन्धन बनाएर चुनावमा होमिएका थिए । तर, दुवै पार्टीलाई जनताले सिधा अस्वीकार गर्दै आगामी कार्यकालका लागि ममता बनर्जीको तृणमूल कंग्रेसलाई पूर्ण बहुमत दिएका छन् ।
चुनावी नतिजाले माटो सुहाउँदो गठबन्धन बन्न नसकेको कुराको स्पष्ट संकेत दिएको छ । निर्वाचन परिणामले गठबन्धनलाई दुवै पार्टीका नेताहरूले आत्मसात् गर्न नसकेको देखिएको छ ।
प्रदेश कंग्रेसका अध्यक्ष अधीर रञ्जन चौधरीले स्वीकार गरे, तर कंग्रेसकै मतदाताहरूले वाम उम्मेदवारहरूलाई भोट नखसालेको निर्वाचन परिणामले प्रस्ट्यायो । किनकि, उत्तरी बंगालमा कंग्रेस–वाम गठबन्धनले केही निश्चित सिटहरूसमेत गुमाएको छ ।
सत्तारूढ तृणमूल कंग्रेसको दबदबा रहेको दक्षिण बंगालमा कंग्रेस–वाम मोर्चाले जित निकाल्ने आशा गरिएको थियो, तर अधिकांश जिल्लामा दुवै पार्टी नराम्ररी पराजित हुन पुगेका छन् ।
सबैभन्दा उल्लेखीय विषय त यो छ कि चुनावी नतिजाले एकतर्फ कंग्रेसले वाम पार्टीको भोटबाट फाइदा उठाउन सफल भएको छ,तर वाम पार्टीलाई गठबन्धन निर्माणले कुनै फाइदा पुग्न सकेन । पश्चिम बंगालमा वाम पार्टीको भोट घटेर ३० प्रतिशतबाट २६ मा झरेको छ भने कंग्रेसको भोट ९.९ प्रतिशतबाट थोरै बढेर १२.३ प्रतिशत पुगेको छ ।
‘कंग्रेस मुक्त भारत’को नारा सार्थक बन्न लागेको हो ?
सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले कंग्रेसमुक्त भारतको नारा दिएको थियो । उक्त निर्वाचनमा कंग्रेसको नराम्रो पराजयसमेत भयो र बीजेपीको सत्ता पुनःस्थापना भयो । तर, यसका पछि बीजेपीको परिवर्तनकारी एजेन्डा नभएर अलोकप्रिय बन्दै गएको मनमोहन सिंह सरकार नै मुख्य कारण थियो । यद्यपि पछिल्लो समयमा कंग्रेसले राज्य सरकारमा समेत आफ्नो पकड गुमाउँदै गएको छ ।
आसाममा पहिलोपटक विजयको झन्डा फहराएको बीजेपीका अध्यक्ष अमित शाहले कंग्रेसमक्त भारतको अभियानमा दुई कदम अघि बढेको टिप्पणी गरेका छन् । वास्तममै पछिल्लो विधानसभाको निर्वाचनको परिणामले कंग्रेसलाई निश्चित क्षति पु¥याएको छ ।
खासगरी आसाममा बीजेपी र पश्चिम बंगालमा तृणमूल कंग्रेसको जितले कंग्रेसको चुनावी अभियानलाई धक्का पु¥याएको हो । तर, समग्रमा कंग्रेसले जुन भोट र सिट पाएको छ, त्यसले बीजेपीले भनेजस्तै कंग्रेसमुक्त भारतको अभियानमा अघि बढेको मान्ने आधार पुष्टि हुँदैन ।
आसाममा बीजेपी फस्न सक्ने
भारतको विधानसभा निर्वाचनमा शक्तिशाली महिलाहरू ममता बेनर्जी र जयललिता तथा केरालामा वाम दलले जुन जित हासिल गरेका छन्, त्यो भने दुरगामी महत्वको छ । तर, बीजेपी यसपटक कुनै पनि पूर्वोत्तर राज्यमा पहिलोपटक सरकार बनाउँदै छ । बीजेपीले आसाममा निर्वाचन प्रचारका समयमा पहिचानको मुद्दा उठाएको छ, त्यो यसैका लागि घातक साबित हुन सक्छ ।
भारतको पूर्वोत्तर राज्य आसाममा पहिचानको मुद्दालाई लिएर पटकपटक हिंसा भड्किने गरेको छ । आसाममा बीजेपीलाई दशकौं पुरानो पहिचानको मुद्दा, पार्टीकै आगामी बाटो र कंग्रेस छोडेर केही समयअघि मात्रै बीजेपीमा प्रवेश गरेका हेमन्त विश्व शर्माको महत्वाकांक्षालाई सम्हाल्न
सजिलो हुनेछैन । भाजपाले केही समयअघि भएको विधान सभाको निर्वाचनमा बिहार र दिल्लीमा नराम्रो पराजय बेहोरेपछि चुनावी रणनीतिमा व्यापक बदलाब गरेको थियो । त्यसको फलस्वरूप उसले आसाममा झन्डा गाड्न सफल भएको छ ।
ममता बनर्जीलाई पश्चिम बंगालमा अत्यधिक बहुमत मिल्नुका पछि गरिबीविरुद्धको उनको लडाइँ, सादा जीवन र भ्रष्टाचारबाट आफूलाई टाढा राख्नु नै मुख्य औजार बने ।
Comments
Post a Comment